रास्वपा सभापति लामिछाने बुधबारसम्म न्यायिक हिरासतमा रहने
पुस २९, २०८१ | काठमाडौं
थुनछेक बहस नसिकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस भने जारी छ । थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाएको हो ।
भोलि माघे संक्रान्ति र माघीको बिदा भएकाले अब अदालत बुधबार मात्र खुल्नेछ । सरकारी वकिलको कार्यालयका तर्फबाट बहस सकिए पनि लामिछानेका तर्फका वकिलको बहस नसिएपछि बुधबार पुनः थुनछेक बहस हुनेछ ।
जाहेरवालाको तर्फबाट केही वकिलले बहस गरे पनि केहीको बहस भने बाँकी छ । लामिछानेविरुद्ध काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम ठगीमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको साहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।