छाङ्गरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना

वैशाख ३१, २०७७ | दार्चुला

– ब्यास गाउँपालिका १ मा पर्ने लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतको भूगोल अतिक्रमण गरी भारतले सडक बनाएपछि नेपाल सरकारले ब्यासको छाङ्गरुमा बुधबार सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाले ब्यासको ठूलो भुभागलाई सुरक्षा दिन बिओपी स्थापना गरिएको हो ।

अहिलेसम्म त्रिदेशीय सीमा क्षेत्र ब्यासमा ६ महिना मात्र नेपाल प्रहरीको उपस्थिति रहेको हुनाले १२ महिना नै सीमा क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । 

ब्यासमा सशस्त्र प्रहरीको बिओपी स्थापना हुनु हाम्रो जिल्लाको लागि ऐतिहासिक कुरो भएको उनको भनाई छ । अहिले स्थानीयको घरमा भाडा लिई बिओपी स्थापना गरिएको हो । बिओपी स्थापनाका लागि जग्गा प्राप्त भईसकेको र अब छिट्टै संरचना निर्माण गरिने उनको भनाई छ ।

छाङ्गरुमा बिओपी स्थापनाका लागि सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायण बाबु थापा नेतृत्वको टोली बुधबार दिउसो ब्यास गएको थियो । सेनाको हेलिकप्टरमार्फत बिओपी स्थापनाका लागि आवश्यक सामान बोकेर जिल्लालगायत गृह मन्त्रालय र सशस्त्र प्रहरीको नेतृत्व ब्यास गएका थिए ।

सेनाको हेलिकप्टरले पहिलो पटकमा सशस्त्र प्रहरी बल नेपाल नम्ब्र ५० गुल्म दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्ट नेतृत्वमा सशस्त्र प्रहरीको टोली ब्यास गाउपालिका १ नितिकुण्डमा रहेको नेपाल प्रहरीको चौकीमा अवतरण गरेको थियो । दोस्रो पटकमा सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक थापा, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई लगायतको टोली ब्यास क्षेत्र उडेको हो ।

बुधवार काठमाडौंबाट दार्चुला पुगेको नेपाली सेनाको हेलिकप्टर विओपीका लागि आवश्यक पर्ने सामान तथा सशस्त्र प्रहरीको टोलीको बन्दोबस्तोको सामान ढुवानी गरिरहेको छ । सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको नेतृत्वमा २५ जना बिओपी स्थापना गरिएको गुल्मपति बिष्टले जानकारी दिए । उक्त स्थानमा विओपी स्थापनार्थ ६ महिनाका लागि पुग्ने खाद्यान्न, हातहतियार र बन्दोबस्तीका सामानहरु हेलिकप्टर मार्फत ढुवानी गरिने छ ।

भारतले गत शुक्रबार नेपाली भूमि लिपुलेक, कालापानी लगायत क्षेत्रमा भूमि अतिक्रमण गरी सडक निर्माण गरिएपछि सरकारको चौतर्फी बिरोध हुदा बिओपी स्थापनामा तदारुकता देखिएको हो । गत मंसिरमै बिओपी स्थापनाका लागि छाङ्गरुमा जग्गा उपलब्ध भएको थियो । अहिले छाङ्गरुका एक जना स्थानीयको घर भाडा लिई बिओपी स्थापना गरिने पछि संरचना बनाईने जनाएको छ । ब्यास क्षेत्रमा बिओपी स्थापना भएपछि सीमा सुरक्षासंगै चोरीसिकारी, अपराधिक गतिविधि नियन्त्रण र स्थानीयलाई सुरक्षाको प्रत्याभुति हुने छ ।

६ महिना भएपनि नेपाल प्रहरीको ब्यास चौकी नजिक छाङ्गरुको गागामा सशस्त्र प्रहरीको बिओपी रहने छ । बिओपीबाट भारतले अतिक्रमण गरेको नेपाली भूमि करिब ८ किलोमिटर दुरीमा रहेको छ । विगतदेखि भारतले अतिक्रमण गरी आफ्नो फौजी राखेको कालापानी बिओपीबाट १२ किलोमिटर पर छ । भारतले नेपालको अतिक्रमण गरेको गुञ्जीबाट लिपुलेकसम्म हाम्रो भूमीमा २२ किलोमिटर सडक बनाएर गत शुक्रबार उद्घाटन गरेको हो । 


प्रतिक्रिया