बुधबार थप ११४ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८८६

जेष्ठ १४, २०७७ | काठमाडौं

नेपालमा कोरोना संक्रमितको संख्या करीब ९ सय पुगेको छ । बुधबार मुलुकभर थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा रौतहटमा ३६ जना, झापाका १७ जना, बाँकेका १६, दाङका १५, सप्तरीका ११ जना, बागलुङका ६, रुकुमका ३, बाराका ७ सिरहाका २, मकवानपुर हेटौंडाका १ जना रहेको बताउनुभयो । 

संक्रमित मध्ये १ सय ८३ जना निको भएर घर फर्किइसकेका छन् । जसमध्ये १४२ जना पुरुष र ४१ जना महिला रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट भने हालसम्म ५८ हजार २ सय ७७ परीक्षणहरु गरिएका छन् । 

यस्तै, नेपालमा आरडीटी विधिबाट हालसम्म १ लाख २ सय ८७ नमूना परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ८० वटा पीसीआर विधिबाट परीक्षण भएको छ भने आरडीटी विधिबाट २ हजार ३ सय २० वटा नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

बुधबारको अपडेटमा क्वारेन्टाइनमा ७० हजार ३ सय ५ जना रहेका छन् । हालसम्म देशभरी ६ सय ९९ जना आइसोलेसनमा रहेका छन् । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक र बाराका एक गरी ४ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया