म्यानमारमा रहेका २६ जना नेपाली फर्किए

जेष्ठ २३, २०७७ | काठमाडौं

– विश्वभर फैलिएको कोरोना महामारी र लकडाउनका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीलाई सरकारले आजदेखि स्वदेश फर्काउदैंछ । कोरोना भाइरसको महामारीका कारण रोजगारी गुमाएका तथा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने पहल शुरु भएको हो । 

पहिलो चरणमा आज एयर फोर्स विमानबाट म्यानमारमा रहेका २६ जनालाई ल्याइएको छ । यस्तै सयुक्त अरव इमिरेट्स युएईमा रहेका नेपालीलाई ल्याउने भनिएपनि युएईबाट ल्याउने प्रक्रियामा भने ढिलाई भएको छ । युएईले आफ्नै खर्चमा एयर अरेबियाबाट नेपालीहरुलाई आजदेखि फर्काउने भनिएपनि कागजी प्रक्रियामा ढिलाई भएकाले उडान शुरु हुन सकेको छैन । युएईमा आज विदा परेकाले पनि सरकारी कार्यलयहरु सवै बन्द छन् ।

सरकारले भिजिट भिसामा गई अलपत्र परेका र गर्भवतीलाई पहिलो प्राथमिकतामा राखिएको जनाएको छ । यसैबीच, विदेशबाट फर्केका नागरिकलाई राख्न काठमाडौं, भक्तपुर र ललितपुरमा होल्डिङ सेन्टर निर्माण गरिएको छ । कोरोना भाइरसको संक्रमण समुदायमा फैलिन नदिन होल्डिङ सेन्टर निर्माण गरिएको हो । विदेशबाट फर्केका बाग्मती, गण्डकी र प्रदेश ५ का नागरिकलाई काठमाडौँ, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुर र प्रदेश–१ र २ का नागरिकलाई भक्तपुरमा राख्ने गरी होल्डिङ सेन्टर निर्माण गरिएको छ । सम्बन्धित प्रक्रिया पूरा गरेर आ–आफ्नो प्रदेश जानुअघि उपत्यकामा नै रहेका होल्डिङ सेन्टरमा राख्न सेनाले सहजीकरण गर्नेछन् । 


प्रतिक्रिया