कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, एकै दिन ४ सय ५१ जनामा संक्रमण

असार १, २०७७ | काठमाडौं

नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । आज एकै दिन ४ सय ५१ जनामा संक्रमण पुष्टि भएसंगै मुलुकभर संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको हो । आज संक्रमितको भएको संख्या हालसम्मकै सबैभन्दा ठुलो संख्या हो । यसअघि शुक्रबार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको थियो । शनिबार २ सय ७३ र आईतबार ४ सय २५ जना संक्रमित भएका थिए । 

कोरोना संक्रमणलाई जितेर घर फर्कनेको संख्या १ हजार ४१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा ६७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । 

मुलुकभरका बिभिन्न क्वारेन्टीनमा १ लाख ३३ हजार ८ सय २९ रहेका छन् । त्यस्तै ५ हजार १ सय ५१ जना बिभिन्न आईसोलेशनमा उपचाररत रहेको उहाँले बताउनुभयो । 

मुलुकभर हालसम्म १ लाख ३८ हजार ६ सय ८३ जनाको पिसीआर परीक्षण गरिएको छ भने आरडीटी बिधिद्धारा २ लाख १९ हजार ३ सय ३६ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ । मुलुकभर कोरोनाबाट ७३ जिल्ला संक्रमित भएका छन् । रसुवा, ओखलढुंगा, मनाङ र मुस्ताङ बाहेक मुलुकका सबै जिल्लामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा उपत्यकामा ५ जना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये काठमाण्डौका २ महिला र २ पुरुष तथा ललितपुरकी एक महिला रहेको मन्त्रालयले जनाएको छ ।

यसबीच कोरोना परीक्षणको दायरा बढाउन सरकारले पोखरामा एउटा पिसीआर ल्याव थप गरेको छ । योसंगै मुलुकभर २२ स्थानबाट कोरोना संक्रमण परिक्षण हुने भएको छ । 


प्रतिक्रिया