दुई दिनमा पनि हटेन कालिखोलाको पहिरो, शुक्रबार दिउँसोबाट मात्र दोहोरो गाडी चल्ने

 कालिखोलाको पहिरो ग्रस्त क्षेत्रको फोटो पनि छ । फोटो सौजन्य : इन्जिनियर शिव खनाल

असार ४, २०७७ | चितवन

नारायणगढ–मुग्लिन सडकको कालिखोलामा झरेको पहिरो दुई दिन हुँदा पनि पुरै सफा हुन सकेको छैन । इच्छाकामाना गाउँपालिका–६ चार किलो कालिखोलामा हिजो बिहान सवा चार बजे झरेको पहिरो आज पनि सफा हुन सकेन । 

अझै २० प्रतिशत पहिरो पन्छाउन बाँकी रहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालले बताउन्ुभयो । गएरातिबाट एकतर्फी खुलेपनि पहिरो पन्छाउन नसक्दा काठमाडौंको लाईफ लाईन मानिएको सडक दुइतर्फी खुलाउन नसकेको हो । इन्जिनियर खनालले भोलीबिहानबाट बाटो खुलाउने गरी काम गर्ने बताउनुभयो ।

‘हामी बिहीबार अबेलासम्म पुरै पहिरो हटाएर दुई तर्फी गाडी चलाउने योजनामा थियौं । तर सकिएन । शुक्रबारलाई पनि काम बाँकी रहयो’ इन्जिनियर खनालले भन्नुभयो । शुक्रबार तीन घण्टा लगातार काम गर्न पाए पहिरो पुरै हटाएर दुई तर्फी गाडी चलाउन सक्ने उहाँको भनाइ छ ।

यो सडक राजधानी काठमाडौंलाई देशको पुर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । सामान्य अवस्थामा यो सडक हुँदै दिनमा १० हजार गाडी ओहोर दोहर गर्दछन् । यसलाई राजधानीको लाइफलाइनसमेत भनिन्छ । लकडाउन खुकुलो भएपनि यात्रु बसको चाप छैन । तर अन्य साना गाडी र ट्रक तथा अत्यावश्यक सेवाका गाडीहरुको चाप भने छ । त्यसैले सवै गाडी रोकेर काम गर्न गाह्रो भएको थियो । एम्बुलेन्स र औषधि बोकेका गाडीहरुलाई छोड्दा बिहीबार लगातार तीन घण्टा पनि काम गर्न नपाएको इन्जिनियर खनालले बताउनुभयो ।

कालिखोलाको पहिरो कुनै नौलो हैन । नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो सडक बनाउन ठाउँ ठाउँमा पहाड काटिएको थियो । पहाड काटेको ठाउँमा वर्षायाममा पहिरो जाने समस्या सुरु भएको हो । चार वर्षयता हरेक वर्ष वर्षायाममा यो सडकमा ठुला ठुला पहिरो जाने गरेका छन् । कुल २९ ठाउँमा पहिरो जान्थ्यो । अन्य ठाउँमा रोकथामको काम सकिएको थियो । नौ ठाउँमा बाँकी थियो ।

बाँकी नौमध्ये आठ ठाउँमा यो वर्ष काम सएिको छ । मुख्य समस्या रहेको कालिखोलामा काम अगाडी बढ्दै गर्दा पहिरो आएको हो । लकडाउनका कारण कामदार नपाएर प्रभावित भएको कालिखोला क्षेत्रको पहिरो नियन्त्रणको लागि कामको सुरुवात हुँदै गर्दा पहिरो गएको इन्जिनियर खनालले बताए ।

पहिरो नियन्त्रणको काम गर्न बनाएको फलामका टेकाहरुसमेत खस्दा पहिरो पन्छ्याउने काम गर्न गाह्रो भएको इन्जिनियर खनालले बताए । यो ठाउँमा आउँदा दिनमा पनि पहिरोको समस्या यथावत रहने खतरा कायमै छ । 


प्रतिक्रिया