हनुमन्ते खोलाको बाढी बस्तीमा पस्यो

मध्यपुरथिमि राधेरोधेस्थित हनुमन्ते खोलामा आएको बाढी र डुबान । तस्बिर : लीला श्रेष्ठ/रेडियो कान्तिपुर ।  

श्रावण ५, २०७७ | भक्तपुर

अविरल वर्षाका कारण उर्लिएको हनुमन्ते खोलाको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुर क्षेत्र डुबानमा परेका छन् । शनिबारदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्न थालेको हो । 

हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते खोला आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ । खोला किनारामा बसेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । 

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले हनुमन्तेमा बाढी बढेकाले आसपासका बासिन्दालई उच्च सतर्कतामा रहन आग्रह गरेको बताउनुभयो । भक्तपुर नगरप्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी लगायतले टोलीले डुबानको जोखिममा रहेको क्षेत्र अनुगमन गरेका छन् । 

हनुमन्ते खोलामा आएको बाढी भक्तपुर नगरपालिकाको सूर्यविनायक राम मन्दिर, बाराहीस्थान, मध्यपुरथिमिको राधेराधे, सूर्यविनायक नगरपालिकाको बालकोट लगायतको बस्तीमा पस्न थालिसकेका छ । हनुमन्तेको सहायक घट्टे खोलामा आएको बाढीले सूर्यविनायक–५ गैरीधारा टोल डुबानमा परेको स्थानीय अनिता पाण्डेले बताइन् ।

बस्ती पहिरोको जोखिममा :

२०७२ बैशाखको भुकम्पको धक्काले भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली, सौडोल गिरी टोलका शारदा गिरीको घर क्षतिग्रस्त भयो । उनको दुई छोरा बुहारी सहित ११ जनाको परिवार अझै अस्थायी टहरामा बसोबास गरिरहेका छन् । दुई छोराहरुले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सुरु भएको लकडाउन अवधिमै क्षतिग्रस्त घर पुनर्निर्माणमा सुरु गरे ।

‘आम्दानीको स्रोत केही छैन, खेत बेचेर घर बनाउन सुरु गरेको हो, पहिरोले लैजाने भयो,’ शारदाले भनिन्, ‘निर्माणाधीन घरको जग नै भासिने गरी चिरा परेको छ ।’

सौडोलस्थित गिरी, बस्नेत टोलका ७ घर पहिरोको उच्च जोखिममा छ । केही दिनदेखिको अबिरल वर्षात्का कारण बस्ती नै पहिरोको जोखिममा परेको हो । पहिरोका कारण स्थानीय शारदा, राजेश, राजु, श्याम सुन्दर, कमल, कुमार गिरी लगायतको घर पहिरोको उच्च जोखिममा छ । सडक चिरा परेको छ ।

चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलस्थित गिरी टोलमा भएको भू–क्षय र भू–क्षय नियन्त्रणका लागि त्रिपालले छोप्दै स्थानीयबासिन्दा । तस्बिर : लीला श्रेष्ठ/रेडियो कान्तिपुर

सो बस्तीसँगैको भिरालो जमिनमा जग्गा व्यापारीले अव्यवस्थित जग्गा प्लटिङ्ग गरेपछि भू–क्षय भएको स्थानीय रोजिन गिरीले बताए । ‘गत वर्षसम्म यो ठाउँमा पहिरो गएको थिएन, तर प्लटिङ गर्नेले जग्गा सम्याउँदै भएको रुखबिरुवा काट्दा भू–क्षय भयो,’ उनले भने, ‘हिउँदमा प्लटिङ्ग गरेको हो, भू–क्षय हुन्छ । भिरालो ठाउँमा प्लटिङ्ग नगर्नु भन्दा व्यापारीले अटेर गर्‍यो, परिणाम यस्तो भयो ।’

भू–क्षय नियन्त्रणका लागि स्थानीय बासिन्दाले त्रिपाल, प्लास्टिकले छोपेको छ । ‘घरमा भएको बोरा, त्रिपालले चिरा परेको स्थानमा छोपेका छौं, लगातार पानी परिरहेकै छ, माटो बगिरहेकै छ,’ उनले भने । त्यस्तै, अविरल वर्षातका कारण चाँगुनारायण–१, ४, ५ र ९ वडाको विभिन्न स्थान पहिरो गएको छ ।


प्रतिक्रिया