प्रधानमन्त्री ओलीले आज बिज्ञहरुसँग छलफल गर्दै

श्रावण २०, २०७७ | काठमाडौं

मुलुकमा बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि अपनाउने उपाय बारे प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिज्ञहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे हुने छलफलमा विकसित परिस्थिती, संक्रमणको बढ्दो प्रभाव तथा नियन्त्रणका लागि अपनाउन सकिने विकल्पका बिषयमा छलफल हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।

 छलफलका लागि राजनैतिक दलका नेताहरुलाई पनि बोलाईएको छ । प्रमुख प्रतिपक्षी काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित संसदमा रहेका दलका शीर्ष नेतालाई बालुवाटार बोलाईएको छ । त्यस्तै २ दर्जन बढी विज्ञहरुलाई छलफलमा बोलाईएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

लकडाउन खुकुलो बनाएसँगै बृद्धि भएको संक्रमणको अवस्था, आगामी अवस्थाको पुर्वानुमान र सरकारको भुमिकाका बिषयमा आजको छलफल केन्द्रित रहने छ । छलफलबाट आएको निष्कर्षका आधारमा सरकारले आवश्यक निर्णय लिने मन्त्री ढकालले बताउनुभयो । यसअघि मन्त्रालयले पनि बिभिन्न तहमा विज्ञहरुसँग छलफल गरेको थियो ।

मन्त्री ढकालले भन्नुभयो, 'बढ्दो संक्रमण नियन्त्रणका लागि पूर्ववत अवस्थामै फर्कनुको विकल्प छैन । हिजोकै स्वरुपमा नभएपनि संक्रमण नियन्त्रणका लागि जोखिमयुक्त क्षेत्रमा लकडाउन गर्नुपर्छ भन्ने बिज्ञहरुको सुझाव छ । आजको निष्कर्षका आधारमा सरकारले आवश्यक निर्णय लिन्छ ।'

चैत्र ११ गते गरिएको लकडाउन ४ महिनापछि साउन ६ गते खुल्ला भएको थियो । नेपालमा कोरोना सक्रमणका कारण हालसम्म ५७ जनाको मृत्यु भईसकेको छ । संक्रमितको संख्या २० हजार ७ सय ५० नाघेको छ । 


प्रतिक्रिया