ओलीको चेतावनी : ती न्यायाधीशलाई भेटेको प्रमाणित गरेर देखाउनुस्

माघ ३, २०७७ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि न्यायाधीशलाई नभेटेको दाबी गर्नुभएको छ । नेकपाको आफूनिकट प्रदेश १ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले चार न्यायाधीशलाई भेटेको भन्दै गलत प्रचार गरिएको दाबी गर्नुभयो ।उहाँले न्यायाधीशहरुलाई भेटेको प्रमाण देखाउन समेत चुनौती दिनुभयो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासका चार न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको भन्दै हिजो प्रतिनिधि सभा विघटनको मुद्दा सुनुवाइका क्रममा निवेदक मध्येकी शशी श्रेष्ठले सो आवाज उठाउनुभएको थियो । यस्तै, प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहले मुलुकमा अराजकता, अनुशासनहीनता निम्त्याएको आरोप लगाउनुभयो । उहाँले नेपालका केही बुद्धिजीवी, राजनीतिज्ञ र जानकार हुँ भन्नेहरुले मुलुकका सम्मानित संस्थाहरुमाथि अपमान गर्ने, गाली बेइज्जती गर्ने गरेको आरोपल गाउनुभयो । 

राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत, निर्वाचन आयोग लगायत निकायमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गरेको उहाँको भनाई थियो । दाहाल–नेपाल समूहलाई इंगित गर्दै ओलीले पार्टी अध्यक्षविरुद्ध अराजक, अनुशासनहीन ढंगले सडक र सञ्चार माध्यममा गएर असभ्य बोल्ने गरेको भन्दै असन्तुष्टि जनाउनुभयो ।

यस्तै ओली समूह कै नेता सुवास नेम्वाङले सर्वोच्च अदालतमा विचाराधीन रहेको विषयमा आफू बोल्न नमिल्ने बताउनुभयो । प्रतिनिधि सभा विघटनको विषयमा मौन बसेका नेम्वाङले सरकारले घोषणा गरेको निर्वाचन भने समयमै हुने दाबी गर्नुभयो । 


प्रतिक्रिया