निर्वाचन तयारीका लागि सहयोग गर्न आयोगद्वारा राजनीति दललाई आग्रह

माघ ४, २०७७ | काठमाडौं

सरकारले घोषणा गरेको आगामी मध्यावधी निर्वाचनको तयारीका लागि सहयोग गर्न निर्वाचन आयोगले राजनीति दललाई आग्रह गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएर आयोगले आगामी कामका लागि सहयोग गर्न आग्रह गरेको हो ।

 सर्बदलीय छलफलका क्रममा आयोगले निर्वाचनको मिति घोष्णा भएपछि अहिले गरिरहेको कामकारबाही, आन्तरिक तयारी, मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम, मतदानस्थल र मतदान केन्द्र पुनरवलोकन कार्यक्रमको बारेमा दलहरूलाई जानकारी गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोगले दलहरूलाई निर्वाचन कार्यक्रममा सहभागी हुन र दलका तर्फबाट निर्वाचनका विषयमा नागरिकलाई सुसूचित गराउन पनि आग्रह गरेको श्रेष्ठको भनाई छ ।

 छलफलमा सहभागी नेकपाको दाहाल–नेपाल समूहले भने प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले निर्वाचनको प्रक्रिया अगाडि बढाउन नहुने प्रतिक्रिया दिएका थिए ।

कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले निर्वाचन आयोगको निर्वाचन कार्यक्रमको तयारीको पक्षमा आफूहरू रहेको बताउनुभयो । निर्वाचन आयोगले कुनै पनि समय निर्वाचन गराउन तयार रहनुपर्ने भन्दै उहाँले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरे त्यसलाई स्वीकार गर्ने तथा निर्वाचन भए निर्वाचनमा जानको लागि नेपाली कांग्रेस तयार रहेको उहाँको भनाइ थियो । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । आयोगले छलफलका लागि संघ प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १४ वटै दललाई बोलाएपनि ११ दल मात्र सहभागी भएका थिए ।


प्रतिक्रिया