प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय

वैशाख २५, २०७८ | काठमाडौं

प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्धमा कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले सोमबार संसदमा लिने विश्वासको मतका विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताउनुभयो ।

 बैठकमा अन्य दललाई पनि विश्वासको प्रस्तावका विपक्षमा उभिन आग्रह गर्ने निर्णय भएको प्रमुख सचेतक खाँडले बताउनुभयो । बैठकमा कांग्रेसकै नेतृत्वमा वैकल्पीक सरकार गठनका लागि आवश्यक पहल जारी राख्ने निर्णय भएको छ । कांग्रेसले कोरोना भाइरस संक्रमणले भयाभव रुप लिदै गर्दा जनताको ज्यान जोगाउनुपर्ने अबस्थामा सरकार अन्य कुरामा अलमलिएकाले त्यसका विरुद्धमा संसदमा ध्यानाकर्षण गराउने निर्णय गरेको सचेतक पुष्पा भूषालले जानकारी दिनुभयो ।

 बैठकमा सरकार संवैधानिक, राजनीतिक, नैतिक सम्पूर्ण हिसाबले असफल भएकाले विश्वासको मत दिने अबस्थामा नरहेको कांग्रेसको ठहर छ । बैठकमा संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले सरकारले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरी विपक्षीप्रति प्रतिशोध साँध्ने मनसायका साथ सरकार अघि बढेको बताउनुभएको थियो । सभापति देउवाले रिक्त उपसभामुख पदको निर्वाचन नगराइकन सरकारले संवैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी गर्नुभएको सचेतक भुषालले बताउनुभयो ।  


प्रतिक्रिया