एकीकृत समाजवादीको संरचना एमालेकै जस्तो हुने

रेडियो कान्तिपुर संवाददाता

आश्विन ७, २०७८ | काठमाडौं


माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एमालेकै जस्तो संगठनात्मक संरचना बनाउने भएको छ । एमालेबाट छुट्टिएको एकीकृत समाजवादीले पूर्वपार्टीकै जस्तो संगठनात्मक संरचना बनाउन लागेको हो । एमालेको ९ औं महाधिवेशनले तय गरेको कार्यसमिति जस्तै संगठनात्मक संरचना बनाइने नेतृ रामकुमारी झाँक्रीले जानकारी दिनुभयो । एमालेको ९ औं महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहितको पदाधिकारी रहने व्यवस्था गरेको थियो । 

एकीकृत समाजवादीको यसअघि चन्द्रागिरी भेलाबाट पारित भएको विधान र पार्टीका संरचनाले पूर्णता पाउन नसकेपछि केन्द्रीय कमिटीमा छलफल भएको हो । केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुङ्गो लगाउने झाँक्रीको भनाइ छ ।

निर्वाचन आयोगमा एकीकृत समाजवादीले प्रस्तुत गरेको विधानमा बहुपदीय प्रणालीमा आधारित १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ । त्यसअनुसार १९ जना पदाधिकारी रहने व्यवस्था रहन्छन् । जसमा १ सय १५ पूर्ण र ३६ जना वैकल्पिक केन्द्रीय सदस्य हुने व्यवस्था छ । त्यसैगरी अध्यक्ष, वरिष्ठ नेता र महासचिव १/१ उपाध्यक्ष र सचिव ७/७ जना र २ उप महासचिवसहित १९ सदस्यीय पदाधिकारी हुनेछ । त्यसैगरी २१ सदस्यीय स्थायी कमिटी र ५१ सदस्यीय पोलिटव्युरोको व्यवस्था पनि विधानमा छ ।

एकीकृत समाजवादीले विगतमा एमालेमा रहँदा गरेको आफू पक्षको भेलाको आधारमा बनेका समानान्तर संगठनहरूलाई नै अघि बढाउने तयारी समेत गरेको छ । एमालेमा हुँदा जिल्लामा समानान्तर जिल्ला कमिटी घोषणा गरिएको थियो । पार्टीमा ७७ वटा जिल्लागत कमिटी बन्ने छन् । त्यसबाहेक जिल्लास्तरकै हैसियत राख्ने ५ वटा विशेष कमिटी रहनेछन् । केन्द्रीय कमिटी बैठक विहान ११ वजेपछि बस्नेछ । 


प्रतिक्रिया