संवैधानिक इजलाससम्वन्धि मुद्धाको सुनुवाइ स्थगित

रेडियो कान्तिपुर संवाददाता

आश्विन ८, २०७८ | काठमाडौं

प्रधानन्यायाधिशको उपस्थिति विना संवैधानिक इजलास गठन गर्न नमिल्ने जिकिरसहित परेको रिटको सुनुवाइ स्थगित भएको छ । न्यायाधिशद्धय प्रकाश ढुंगाना र मनोजकुमार शर्माको इजलासमा आजका लागि तोकिएको सुनुवाइ नेपाल वार र सर्वोच्च बारबाट एमिकस क्युरीको नाम प्राप्त नभएपछि स्थगित भएको हो । 

अधिवक्ता गणेश रेग्मीले गत भदौ १६ गते दिएको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रधानन्यायाधिशको उपस्थितिको बिषय टुङगो नलागेसम्म संवैधानिक इजलास नराख्न आदेश दिदै सो मुद्धामा राय दिनका लागि एमिकस क्युरी गठन गर्ने आदेश भदौं १७ गते दिएको थियो । अदालतको सोही आदेशपछि स्थगित भएको सुनुवाई आजका लागि तोकिएको थियो । तर सर्वोच्च वार र नेपाल वारबाट चार जनाको नाम टुङगो लगाएपनि आधिकारिक रुपमा अदालतमा नपठाएपछि सुनुवाइ प्रभावित भएको हो । 

केपी ओली नेतृत्वको तत्कालिन सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति विरुद्ध परेको रिटको सुनुवाई गर्न बस्नुपर्ने संवैधानिक इजलासमा नबस्ने निर्णय प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवरा निर्णय गर्नुभएको थियो । प्रधानन्यायाधिश जवराको अनुपस्थितिमा संवैधानिक इजलासले संवैधानिक नियुक्तिविरुद्धको रिटको सुनुवाई भदौ १८ गते गर्ने तयारी भएपनि न्यायाधिश फुयालको आदेशपछि सुनुवाई अनिश्चित बनेको छ । 


प्रतिक्रिया