दशैका लागि काठमाडौं बाहिर जान अग्रिम टिकट बुकिङ सुरु

रेडियो कान्तिपुर संवाददाता

आश्विन ११, २०७८ | काठमाडौं


वडादशैमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरुका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला भएको छ । अग्रिम टिकट बुकिङ गर्न काठमाण्डौको गोंगबुस्थित बसपार्कमा बिहानैदेखि सर्वसाधरणको भीड लागेको छ । बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ल्होत्से बहुउद्देश्यीय प्रालिले ११ वटा काउन्टर थप गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर काठमाडौका विभिन्न १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कतिपय अनलाइन व्यवसायीले अनलाइनबाट पनि अग्रिम टिकट बुकिङको व्यवस्था मिलाएका छन् । यातायात व्यवस्था विभागले टिकट काउन्टरहरुमा भीडभाड नगरी सामाजिक दुरी कायम गर्दै अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन व्यवसायीलाई निर्देशन दिएको छ । दशैका लागि टिकट विक्रीमा पनि विचौलिया हावी हुने भएकाले यातायात व्यवसायी राष्ट्रिय महांसघबाट इजाजत प्राप्त र परिचयपत्र भएका काटउन्टरबाट मात्रा टिकट खरिद गर्न पनि विभागले यात्रुहरुलाई सचेत गराएको छ ।

यसैबीच सरकारले दशैलाई लक्षित गरेर घटस्थापनादेखि पुर्णिमासम्म सार्वजनिक सवारीसाधनको रुट इजाजत खुला गर्ने भएको छ । सो अवधिसम्म सार्वजनिक सवारीसाधनले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर्न पाउने व्यवस्था गरिएको विभागका विभागका प्रवक्ता लोकनाथ भुषालले जानकारी दिनुभयो ।

बसको छतमा यात्रु तथा पशुपन्छी राख्न नपाइने, सवारीसाधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रूपमा टास गर्नुपर्ने व्यवस्था गरेको विभागले जनाएको छ । यातायात विभागले चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्न वर्षाले क्षति पुर्‍याएका सडक तथा पुलको मर्मत गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएको छ । दशै, तिहार र छठमा मात्र काठमाण्डौ उपत्यकाबाट करिब १० लाख मानिस बाहिरिने अनुमान गरिएको छ । 


प्रतिक्रिया