सीमामा हुने अपराध नियन्त्रणमा सहकार्य बढाउने नेपाल–भारतबीच सहमति

आश्विन २१, २०७८ | नयाँ दिल्ली

नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्यलाई बढाउने सहमित भएको छ । 

भारतको नयाँ दिल्लीमा तीनदिनदेखि जारी बैठकमा दुई देशबीचको सीमामा हुने अपराधिक गतिविधि नियन्त्रणमा सहकार्यलाई अगाडि बढाउने सहमति गर्दै आज समापन भएको छ । बैठकका लागि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल नेतृत्वमा दिल्ली आएको टोली आजै नेपाल फर्किएको छ । 

प्रहरी महानिरीक्षक खनालले सीमा क्षेत्रको सुरक्षा व्यवस्थाका लागि दुई देशका सुरक्षा बलबीच सम्बन्ध र सहकार्य बढाउने विषयमा बैठक केन्द्रित रहेको बताउनुभयो । फिल्डमा खटिने टोलीदेखि माथिल्लोसम्मका अधिकारीहरुबीच नियमित समन्वय राख्ने सहमति भएको उहाँले जानकारी दिनुभयो । 

हरेक तहका कमाण्डरले आफ्ना समकक्षीसँग सीमा अपराध नियन्त्रण, आम मानिसलाई सहजता प्रदान गर्ने सम्बन्धमा नियमित छलफल गर्ने दुबै देशका सुरक्षा बलका प्रमुखहरुले जोड दिएका छन् । एसएसबीको आयोजनामा दुई देशका सुरक्षा बलका प्रमुख अधिकारीबीच पाँचौ इन्डिया नेपालको ओर्डिनेस बैठक दिल्लीमा भएको हो । 

नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले र भारतका तर्फबाट एसएसबीका प्रमुख महानिर्देशक कुमार राजेश चन्द्रले बैठकको नेतृत्व गर्नु भएको थियो । बैठकको समापनमा दुबै उच्च अधिकारीहरुले १२ बुँदे समझदारीमा हस्ताक्षर गर्नु भएको छ ।

सीमा क्षेत्रमा देखिने सुरक्षाका चुनौतीहरुको सामना मिलेर गर्ने दुबै पक्षबीच समझदारी बनेको छ । सीमा क्षेत्रमा विभिन्न खाले नयाँ नयाँ चुनौतीहरु समेत देखिन थालेकाले आपसी सहकार्यमा त्यसलाई निस्तेज पार्ने सहमति भएको हो । 

आपराधिक गतिवधि र त्यस्ता क्रियाकलापको सूचना समयमै आदान प्रदान गर्ने,सीमा क्षेत्रमा दुबै पक्षले हेल्पिङ डेस्कको स्थापना, अवैध तरीकाले गरिने मानव ओसारपसारलाई कडाईका साथ नियन्त्रण गर्ने, त्यस्तो कार्यको नियन्त्रणमा नेपाल र भारतमा कार्यरत गैर सरकारी संस्थाहरुसँग पनि समन्वय गर्ने लगायत विषय सम्झौतामा समेटिएको छ ।

त्यस्तै, खुला सीमाको फाइदा उठाएर तेस्रो मुलुकका नागरिकहरु अवैध तरिकाले एक अर्को मुलुकमा आउजाउ गर्ने भएकाले त्यसलाई कडाईका साथ नियन्त्रण गर्ने, त्यस कार्यमा संलग्न दलाललाई कानूनी कारवाहीको दायरामा ल्याउने विषय समझदारीमा छ । भारतीय पक्षले आतङ्कीत गतिविधि गर्ने व्यक्तिहरु नेपालको बाटो हुँदै भारत प्रवेश गर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै त्यसमा विशेष सहयोगको अपेक्षा राखेको छ । 

त्यस्तै, नेपालले पनि विभिन्न तेस्रो मुलुकका व्यक्ति भारत हुँदै नेपाल पसेर शरणार्थी वा अवैध रुपमा बस्ने भएकाले त्यसमा एसएसबी चनाखो भइदिनुुपर्ने आग्रह गरेको थियो । नक्कली नोट, लागू औषध, तस्करी लगायत अन्य अपराध जन्य कार्यलाई नियन्त्रण गर्न दुबै पक्षबीच सहकार्यलाई बढाउने समझदारी भएको छ । 

सशस्त्र प्रहरी र एसएसबीबीच बर्सेनि नियमित रुपमा यस्तो बैठक हुँदै आएको छ । आलोपालो दुई देशमा हुँदै आएको यो बैठक गतवर्ष कोभिडका कारण रोकिएको थियो । आगामी बैठक नेपालमा हुनेछ । दुई महिना अगाडि दार्चुलामा तुईन तर्दै गरेका बेला एसएसबीका जवानले तुईन फुस्काई दिएका कारण नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको विषयमा भने बैठकमा चर्चा नभएको जनाएको छ । 

सो घट्नामा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट नै पठाएको र त्यो विषय कूटनीतिक तहकै कुरा भएकाले त्यस विषयमा सुरक्षा फौजको बैठकमा कुरा नउठाइएको नेपालका अधिकारीहरुले बताएका छन् । भारतीय पक्षले पनि त्यस विषयमा केही कुरा राखेका छैनन् । 


प्रतिक्रिया