जन्मदिन मनाउने पैसा अपाङ्गता भएकालाई

कार्तिक १०, २०७८ | रोल्पा

रोल्पाको पश्चिममा पर्ने त्रिवेणी गाउँपालिका–१ करेटी गाउँकी कमला घर्तीमगर १९ वर्षकी हुनुभयो । जन्मेको ५ महिनामै आगोमा जल्दा उहाँले दुवै खुट्टा गुमाउनुभयो । अहिले अरनिको माध्यमिक विद्यालय नुवागाउँमा कक्षा १२ मा अध्ययनरत उहाँको उपचार खर्च जुटाउँदा बुबा विदेश पुग्नु भयो भने आमाले घरखेत बाँझै पारेर सेवामा लागि पर्नुभयो ।

‘पहिलो सन्तान छोरीको उपचार गर्न काठमाडौंसम्म पुग्यौं, धेरै खर्च लाग्यो ।’ कमलाकी आमा अमृता भन्नुहुन्छ, ‘खुट्टा काटेर पनि छोरीको उपचार गर्‍यौं । ऋण लागेर पनि सन्तानलाई जोगाउन सक्यौं ।’ शिक्षक बन्ने चाहना राख्नु भएकी कमलाले कम्प्युटर सिक्नु भएको छ । बाआमाले दु:ख गरेर उपचार र अध्ययन गराएकामा कमला निकै खुशी हुनुहुन्छ । भन्नु हुन्छ, ‘जन्म दिने आमाबाले भगवान बनेर ऋण गरेर मेरो उपचार गर्नुभयो । पढेर म उहाँहरुको सेवा गर्छु ।’ जन्मेको ५ महिनामा सुतेका बेला अगेना छेउ छाडेर काममा गएका बेला कमलाका दुवै खुट्टा आगोमा लगेको अमृताले बताउनु भयो । वैदेशिक म्यानपावर व्यवसायीबाट ठगिएपछि कमलाका बुबा ९ लाख ऋण तिर्न दुई पटक विदेश गइसक्नु भएको छ । अहिले उतै हुनुहुन्छ ।

यस्तै ७ वर्षकी जमुना घर्तीमगरका पनि दुवै खुट्टा छैनन् । सानैमा आगोमा परी उहाँले खुट्टा गुमाउनु भयो । उहाँको हेरचाह गर्न समेत परिवार असफल भयो । त्रिवेणीकै बुढागाउँकी उहाँलाई लुम्बिनी प्रदेश सांसद दीपेन्द्रकुमार पुन सिजलको सहयोगमा रोल्पा नगरपालिका–६ कोटगाउँस्थित नेपाल माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना गरिएको छ । जमुनाका दुवै खुट्टा उहाँ १ वर्षको हुँदा आगोमा लगेर नष्ट भएका थिए । कक्षा १० सम्म पढाउने गरी अभिभावकत्व ग्रहण गरेर विद्यालय भर्ना गराउनु भएका सांसद पुन भन्नुहुन्छ, ‘मेरा पनि छोरी छैनन् । दुई वटा छोरा छन् । म जमुनालाई छोरी सरह माया गरेर कक्षा १० सम्म पढाउँछु ।’

दुवै खुट्टा गुमाउनु भएकी कमलालाई आउजाउ र हिडडुल गर्न सजिलो होस् भनेर सांसद पुनकै छोरा बुहारीले सवारी साधन (स्कुटी) खरिद गर्न नगद ५० हजार प्रदान गर्नु भएको छ । सांसद पुन भन्नुहुन्छ, ‘दुई जोडी छोराबुहारीबाट जन्मेका दुई छोराको जन्म दिनको अवसरमा उहाँहरुका तर्फबाट उक्त रकम दिइएको हो । थप सहयोगबाट सवारी साधन खरिद गर्न सहयोग गर्छु ।’

उहाँका अनुसार अपाङ्गमैत्री साधन खरिद गर्न कागजी प्रक्रिया अघि थालिएको छ । सांसद पुनका जेठा छोराबुहारी मिलन र डा सविना तथा कान्छा छोराबुहारी आलोक र सुनीताबाट एक/एक छोरा जन्मेको र जन्म दिन मनाउने खर्च कटाएर अपाङ्ग नानीलाई सहयोग गरिएको हो । पुनको यस्तो निर्णयबाट अपाङ्ग र असहायलाई सहयोग पुगेको छिमेकी समेत रहेका माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुरेन्द्र घर्तीमगरले बताउनु भयो । उहाँले सांसद् पुनको समासेवी भावनाबाट अरुले पनि सिक्नुपर्ने बताउँनु भयो । सांसद पुनले दुवैलाई घरमै बोलाएर सहयोगको घोषणा गर्नु भएको हो ।

स्थानीय मगर समुदायमा नयाँ सन्तान भित्रिएपछि महिला, आमा र सांंस्कृतिक समूहले नाचगान गर्ने र दान रकम संकलन गर्ने चलन छ । यस्तोमा निकै खर्च हुने स्थानीयको भनाई छ । उक्त खर्च कटाएर अपाङ्ग र वेसहारालाई अध्ययन गर्न सहयोग गरिएको सांसद पुनले बताउनु भयो ।

सांसद पुन समेत अपाङ्ग हुनुहुन्छ । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वमा सहभागी भएका बेला पाल्पामा आफैले साथमा बोकेको विस्फोटक पदार्थ पड्केपछि उहाँले एउटा हात र अर्को हातका औंला गुमाउँनु भएको थियो । सशस्त्र द्वन्द्वका कारण भएका घाइते अपाङ्ग छानविन तथा सहयोग समितिका केन्द्रीय संयोजक रहनु भएका उहाँ लुम्बिनी प्रदेशका लागि रोल्पा ख बाट अघिल्लो निर्वाचनमा निर्वाचित हुनु भएको थियो । सामाजिक सेवाभावमा विश्वास राख्ने उहाँले शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रमा विकासको नेतृत्व गर्दै आउनु भएको छ । 


प्रतिक्रिया