प्रदेश २ मा माओवादीको प्रथम प्रदेश अधिवेशनको बन्दसत्रको तयारी

पुस ३, २०७८ | सलार्ही

नेकपा माओवादी केन्द्रले प्रतिनिधि चयन नसक्दै प्रदेश २ मा प्रथम प्रदेश अधिवेशनको बन्दसत्र आयोजना गर्ने तयारी गरेको छ । सलार्हीको लालबन्दीस्थित एक पार्टी प्यालेसमा प्रथम प्रदेश अधिवेशनको बन्दसत्र गर्न लागिएको हो । 

जनकपुरमा गत मंसिर २५ मा उद्घाटन गरिएको अधिवेशनको बन्दसत्र आजबाट लालबन्दीमा सुरु हुने माओवादी केन्द्र प्रदेश २ का इन्चार्ज प्रह्लाद बुढाथोकीले बताउनुभयो । 

हिजो बसेको बैठकमा बन्दसत्र आयोजना, प्रदेश कमिटी गठन र राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि चयन गर्ने विषयमा छलफल भएको प्रदेश इन्चार्ज बुढाथोकीले जानकारी दिनुभयो । 

सप्तरीबाट प्रतिनिधि चयन विवाद समाधानका लागि शुक्रबार प्रयास भएपनि सहमति नभएको उहाँले जानकारी दिनुभयो । माओवादीमा प्रदेश कमिटीको नेतृत्वका लागि कसैले पनि उम्मेदवारी घोषणा गरेको छैन । तर, प्रदेश अध्यक्षका लागि प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, रामकुमार शर्मा, प्रह्लाद बुढाथोकी आन्तरिक तयारीमा जुटेका छन् । 

नेताहरु २ सय ७१ सदस्य प्रदेश कमिटी सर्वसम्मत चयन गर्न आन्तरिक छलफलमा जुटेका हुन् । बन्दसत्रले नौ पदाधिकारी सहित २ सय ७१ सदस्यीय प्रदेश कमिटी र करीब १ सय २० जना केन्द्रीय राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गर्ने माओवादी बुढाथोकीले जानकारी दिनुभयो । 

प्रदेश २ का १ सय ३६ मध्ये २५ स्थानीय तहमा अधिवेशन हुन बाँकी छ । सप्तरीका १५ स्थानीय तहमा माओवादीले अधिवेशन गराउन सकेको छैन । उहाँका अनुसार बन्दसत्रबाट सकेसम्म सहमतिमै प्रदेश कमिटी चयन गर्ने प्रयास स्वरुप आवश्यक छलफल भईरहेको छ । 


प्रतिक्रिया