आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २४, २०७८

सामाजिक न्याय र लैङिगक समानता: दिगो विकासको सुनिश्चितता भन्ने नारा सहित १ सय १२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज मनाइँदैछ । नारी आन्दोलनकी अभियन्ता क्लारा जेटकिनले सन् १९११ मार्च ८ का दिन महिला कामदार माथिको श्रम शोषण विरुद्धको आवाज उठाएको दिनको सम्झनामा यो दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउन थालिएको हो । महिला अधिकारको मुद्दा उठ्न थालेको समय भइसक्दा समेत अझै पनि महिला र पुरुषबीचको खाडल ठूलो छ । महिलाका हक अधिकार कानुनी रूपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ ।

दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण, सहभागिता र समानताको विषयमा महिलाको मात्र नभएर समाजकै मुद्धा भएको बताउनुभएको छ । महिला सशक्तीकरणका लागि महिला र पुरुष दुवैको समान र सक्रिय भुमिका आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाई छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले जनसंख्याको आधा भन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनुपर्ने बताउनुभएको छ । महिला सम्बन्धी हकको प्रभावकारी कार्यान्वयनबाट मात्र महिलाको उत्थान हुन सक्ने उपराष्ट्रपति पुनको भनाई छ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाको हक, अधिकार सुनिश्चितताका लागि सरकारले आफ्ना कार्यक्रम केन्द्रित गरिरहेको बताउनुभएको छ । महिलाको सामाजिक आर्थिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि कानुनी, नीतिगत, संस्थागत तथा लक्षित कार्यक्रमहरुलाई सरकारले प्रभावकारी रुपमा काम गरिरहेको प्रधानमन्त्री देउवाले बताउनुभएको छ । महिला सशक्तीकरणका लागि सबैको सरोकारको विषय भएकाले सबैले आआफ्ना क्षेत्रबाट समन्वयात्मक तरिकाले काम गर्न उहाँले आह्वान गर्नुभएको छ । यस्तै, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलाको जीवनको सुरक्षा, रोजगारीका लागि महिलाको श्रमलाई आर्थिक उपार्जनमूलक कार्यमा लगाउन सके उनीहरु माथि सम्मान हुने बताउनुभएको छ । महिलाको आर्थिक उपार्जनका लागि तीन वटै तहका सरकारले नीति योजना र कार्यक्रम तय गर्नुपर्ने मन्त्री रेग्मीको भनाई छ । दिवसको अवसरमा सरकार र सरोकार निकायले चेतना मुलुक विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । 


प्रतिक्रिया