सगरमाथा संवादको तयारी अन्तिम चरणमा

वैशाख ३०, २०८२
आगामी शुक्रबारदेखि काठमाडौंमा हुन लागेको सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ । जलवायु परिवर्तनबाट नेपाललाई परेको असर विश्व समुदायलाई महसुस गराउने उद्देश्यले आयोजना गरिएको सम्मेलनका लागि १२ वटा देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, चीन, भारत, बंगलादेश, भुटान माल्दिभ्स, जापान, बेलायत र कतार लगायत देशबाट उच्च तहको प्रतिनिधिमण्डल सगरमाथा संवादका लागि आउने भएका छन् । परराष्ट्र मन्त्रालयले पाकिस्तानबाट कसको नेतृत्वमा सम्मेलनमा सहभागी हुने भन्ने खुलाएको छैन । यसैबीच, परराष्ट्र मन्त्री डा. आरजु राणाले सगरमाथा संवाद नेपालका लागि मात्र नभई अन्य देशलाई समेत साझा मञ्च भएको बताउनुभएको छ ।
सम्मेलनमा नेपाल जस्ता पर्वतीय मुलुकले जलवायु परिवर्तनबाट भोगिरहेको चुनौती, विश्व समुदायको अनुभव लगायत विषयमा छलफल हुने बताइएको छ । संवादबाट मुलुकको छवि विश्वव्यापी रुपमा फैलाउन सहयोग मिल्ने मन्त्री राणाको भनाइ थियो ।
तीन दिनसम्म चल्ने सम्मेलनमा १२ वटा बिषयमा समूहगत छलफल हुने भएको छ । साथै विदेश १ सय ७५ जना र नेपाल गरी झन्डै ३ सय ५० जना सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।