निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने

रेडियो कान्तिपुर संवाददाता

श्रावण २८, २०७९ | काठमाडौं

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको भने हुनुपर्नेछ । 

आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आइएको थियो । आसन्न निर्वाचनमा करिब एक लाख त्यस्ता मतदाताले मतदान गर्न पाउने आयोगको अनुमान छ । आगामी भदौ १२ देखि १९ गतेसम्म निर्वाचन कार्यालयमा पुगी मतदाता नामावली अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ । 


प्रतिक्रिया