दोलखामा ५० प्रतिशत मात्रै मत खस्यो

मंसिर १५, २०७९ | चरिकोट

दोलखाको ४ वटा मतदानस्थलका १० वटा मतदान केन्द्रमा बिहीबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । दोलखाको प्रदेश १ (१) को बैत्यश्वर गाउापालिका–६, ३ र २ नं वडाको ८ वटा मतदान केन्द्र र तामाकोशी गाउापालिका–२ जफेको हेल्थपोष्ट मतदान स्थलको २ वटा केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको हो । 

निर्वाचन र मतदातालाई सुरक्षित मतदान गर्न प्रहरी टोल टोलमै खटिएका थिए । यी मतदान स्थलमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । ८ हजार ५ सय १४ मतदाता रहेको यी मतदानस्थलमा ४ हजार २ सय ५७ मत खसेको छ । 

अतिसंवेदशील रहेका ४ वटै मतदानस्थलमा सुरक्षा अबस्था निकै कडा परिएको थियो । मतदानस्थल र मतदाताको सुरक्षाका लागि जनपद, सशस्त्र र नेपाली सेनाका १४ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक गंगा प्रसाद पौडेलले बताउनुभयो । 

मतदान गर्नेमा पुरुष भन्दा महिलाको सहभागीता उत्साह जनक उपस्थिति देखिन्थ्यो । मंसिर ४ गतेको निर्वाचनका क्रममा यी मतदान केन्द्रमा ९० प्रतिशत भन्दा बढी मत खसेको थियो । 

सो मत फर्जी खसेको र मतपेटिका फुटेको लगायत विषयमा नेकपा एमालेले उजुरी दिएपछि निर्वाचन आयोगले छानबिन गरेर आज पुन: मतदान गराएको हो । मतपेटिका सदरमुकाम ल्याईसकेपछि सर्वदलीय बैठक बसेर आजैबाट गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया