काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी पुनः वितरण सुरु

मंसिर २३, २०७९ | काठमाडौं

काठमाडौं उपत्यकामा आजबाट पुनः मेलम्चीको खानेपानी वितरण सुरु भएको छ । मेलम्चीको खानेपानी आजबाट तेस्रोपटक पुनः वितरण सुरु भएको हो । आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ निर्माण गरेको भण्डारण पोखरी र पुरानो पानी भण्डारण पोखरीबाट पानी वितरण सुरु गरेको हो । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आयोजना गरेको एक कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गर्नुभयो । आयोजनाका अनुसार महाँकाल पानीपोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटारबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख, टिगानी मध्यपुर थिमी नयाँ पोखरीबाट ३० लाख लिटर पानी वितरण हुनेछ । 

यस्तै, कटुञ्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगञ्ज पुरानो पोखरीबाट २० लाख, पानीपोखरी महाराजगञ्ज नयाँ पोखरीबाट ४५ लाख, मिनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुनेछ । 

कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उपकार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर कार्कीले हाल उपत्यकामा दैनिक ४३ करोड लिटर माग भएपनि आपूर्ति करीब १२ करोड लिटर मात्रै रहेको बताउनुभयो । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी थप हुँदा पनि दैनिक मागलाई भने सम्बोधन गर्न नसकिने कार्कीले बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने पानी भण्डारण पोखरीबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका गोकर्णेश्वर, बुढानीलकण्ठ, कीर्तिपुर, भक्तपुर, मध्यपुर थिमी, टोखा, तारकेश्वर नगरपालिकाको कार्यक्षेत्रभित्र प्रथम चरणमा २४ सै घन्टा वितरण गरिनेछ । 


प्रतिक्रिया