चालक दलका सदस्य, विदेशी नागरिक र पहिचान नभएका शव भोलि मात्रै काठमाडौं ल्याइने

माघ २, २०७९

यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका चालक दलका सदस्य, विदेशी नागरिक र पहिचान नभएका शव भोलि मात्रै काठमाडौं ल्याइने भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उद्धार तथा समन्वय केन्द्रका अनुसार ४६ जनाको शव काठमाडौं पठाउन लागिएको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले २३ जनाको शव भने पोखरामै अभिभावक र आफन्तलाई बुझाउन शुरु भएको बताउनुभयो । 

हालसम्म फेला परेका ६९ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छन् । तीन जनाको शव भने फेला पर्न नसकेको हाम्रा सहकर्मीले जनाएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले सेती खोंचमा बिहानैदेखि खोजी गरेका छन् । केन्द्रका अनुसार अहिलेसम्म ४४ मृतकको पहिचान भएको छ । पहिचान भएका शवको पोस्टमार्टम प्रक्रिया सुरु भइसकेको प्रतिष्ठानका निर्देशक डा.भरतबहादुर खत्रीले बताउनुभयो । शवको पोष्टमार्टमका लागि फरेन्सिक विशेषज्ञसहित ७ सदस्यीय टिम बनाइएको छ । सनाखत हुन नसकेका शवको डीएनए परीक्षण काठमाडौंमा गर्ने तयारी भएको छ । 


प्रतिक्रिया