उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित

माघ ७, २०७९ | काठमाडौं

प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार इन्दिरा राना मगर निर्वाचित हुनु भएको छ । शनिबार भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की मगर उपसभामुखमा निर्वाचित हुनु भएको हो । 

मगरले कांग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गर्नु भएको हो । उपसभामुखमा निर्वाचित मगरले १६६ मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभामा उपस्थित रहेका सदस्यहरुको बहुमत प्राप्त गर्दै सांसद मगर उपसभामुखमा निर्वाचित हुनु भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो ।

रानाको प्रस्तावकमा सोवतिा गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लङिदेन हुनुहुन्थ्यो ।

उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । प्रतिनिधिसभामा २ सय ७४ सांसद छन् । 

बहुमत पुर्‍याउन १ सय ३६ मत आवश्यक पर्छ । उपसभामुख चयनका लागि शनिबार भएको निर्वाचनमा २६४ सांसद उपस्थित थिए । एक सिट रहेको नेपाल मजदुर किसान पार्टी भने निर्वाचनमा सहभागी भएको थिएन ।

रास्वपाकी सोविता गौतमलाई उपसभामुख बनाउने प्रारम्भिक चरणमा चर्चा भए पनि सत्ता साझेदार दलहरूले रानामगरलाई उपसभामुख बनाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया