’ मातृ मृत्युदर घटाउनका लागि अझै ठोस रणनीति बनाउनुपर्छ ’

चैत्र १३, २०७९ | काठमाण्डौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय तथ्यांक कार्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य विकास साझेदारहरूको संयुक्त प्रयासमा भएको अध्ययनले मातृ मृत्युमा सुधार भएको देखाएको छ । पाँच वर्षअघि मातृ मृत्यु प्रति लाख जीवित जन्ममा २ सय ३९ रहेकामा पछिल्लो पटक एक लाख जीवित जन्ममा १ सय ५१ आमाको मृत्यु हुने गरेको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा प्रमुख डा विवेक कुमार लाल यसलाई अझ सुधार्न सकिने बताउँछन् ।

मातृ मृत्यु दर घटाउनका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरीरहेको छ । आमासुरक्षा कार्यक्रम, सुत्केरी गराउन स्थानीय तहमा बर्थिङ सेन्टरहरुको स्थापना भएको छ । अस्पतालमा पनि सिजेरियन सहितको प्रसुति सेवा उपलब्ध, गर्भ जाँचको सुविधा, जनचेतना लगायतले मातृ मृत्यु दरमा सुधार आएको देखिन्छ । दोलखाको आलम्पु स्वास्थ्य संस्थास्थित बर्थिङ सेन्टरमा कार्यरत अनमी कृष्णा थामी शत प्रतिशत गर्भवती स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गरेको बताउँछिन् ।

मातृ मृत्यु अनुपातको अनुमान तथा गर्भवती, प्रसूति र सुत्केरी अवधिमा हुने मातृ मृत्युका कारणहरू पहिचान गर्नका लागि राष्ट्रिय जनगणनासंगै नेपालमा पहिलो पटक मातृ मृत्युसम्बन्धी अध्ययन भएको हो । अध्ययनले नेपालमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु घटेको देखाएको छ । जसमध्ये लुम्बिनी र कर्णाली प्रदेशमा उच्च मातृ मृत्यु अनुपात क्रमश: २०७ र १७२ र बाग्मतीमा न्यून मातृ मृत्यु अनुपात ९८ पाइएको छ । प्रजनन उमेर समूह १५–४९ वर्ष मा मृत्यु भएका कुल १२ हजार ९ सय ७६ महिलामध्ये ६ सय ५३ अर्थात् ५ प्रतिशत महिलाको मृत्यु गर्भावस्थासंग सम्बन्धित रहेको देखाएको छ । विगतमा घरमै बच्चा जन्माउने प्रचलन हटेर गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा पुग्ने क्रम बढ्दै गएको छ । पाँचथरको थर्पु स्वास्थ्य चौकीका स्वास्थ्य सहायक विजय मुखिया मातृ मृत्युदर न्यनीकरणमा बर्थिङ सेन्टरको अवधारणाले सहयोग गरेको बताउँछन् ।

राष्ट्रिय तथ्यांक कार्यलयको अध्ययन प्रतिवेदनमा गर्भावस्थासंग सम्बन्धित ६ सय ५३ मृत्यु मध्ये ९५ प्रतिशत ६ सय २२ मातृ मृत्यु रहेको छ । प्रजनन उमेरका महिलाको मृत्युमध्ये मातृ मृत्युको समग्र अनुपात ४ दशमलव ८ प्रतिशत रहेको छ । मातृ मृत्यु भएका महिलाहरूमध्ये ३३ प्रतिशत महिलाको मृत्यु गर्भावस्थामा, ६ प्रतिशतको प्रसव अवस्थामा र ६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा भएको पाइएको छ । मातृ मृत्यु भएका महिलाहरूमध्ये झण्डै आधा ४७ प्रतिशत महिलाहरूको मृत्यु लुम्बिनी र मधेश प्रदेशमा भएको पाइएको छ । मातृ मृत्यु भएका महिलाहरूमध्ये १० प्रतिशत महिलाहरूको मृत्यु किशोरावस्था १५–१९ वर्ष मा भएको छ । अधिकांश ५७ प्रतिशत महिलाको मृत्यु स्वास्थ्य संस्थामा र २६ प्रतिशत महिलाको मृत्यु घरमा भएको पाइएको छ ।

प्रसव र सुत्केरी अवस्थामा मृत्यु भएका कुल ४१२ मातृ मृत्युमध्ये ५३ प्रतिशत महिलाले सुरक्षित मातृत्व सेवा प्रोटोकलअनुसार चारपटक गर्भ जाँच गराएका र प्रसूति भएको ७ देखि ४२ दिनको अवधिमा मृत्यु भएका १७३ महिलाहरू मध्ये ४५ प्रतिशत महिलाले प्रोटोकलअनुसार तीन पटक सुत्केरी जाँच गराएको पाइएको छ । त्यस्तै, मातृ मृत्यु भएका ६११ महिलामध्ये ३७ जना अर्थात ६ प्रतिशतले गर्भपतन गराएको वा तिनको गर्भ खेर गएको देखिएको छ । प्रसूति र सुत्केरी अवधिमा मृत्यु भएका महिलामध्ये अधिकांश ७६ प्रतिशत महिलाले स्वास्थ्य संस्थामा प्रसूती गराएको अध्ययन प्रतिवेदनको निष्कर्ष छ ।स्वास्थ्य संस्थामा प्रसूति गराएका महिलाहरूमध्ये ६२ प्रतिशत महिलाले सरकारी स्वास्थ्य संस्थामा र ३८ प्रतिशत महिलाले गैरसरकारी स्वास्थ्य संस्थामा प्रसूति गराएका थिए । सुत्केरी अवस्थामा मृत्यु भएका महिलाहरूमध्ये २७ प्रतिशत महिलामा अत्यधिक रक्तस्राव, २३ प्रतिशत महिलामा रिागटा लाग्ने/बेहोस वा अचेत हुने तथा १२ प्रतिशत महिलामा काम्ने समस्या भएको पाइएको छ ।

परिवार कल्याण महाशाखाका प्रमुख डा विवेक कुमार लाल यति प्रयासले मात्र नपुग्ने बताउँछन् । मातृ मृत्युदरका विषयमा सम्वन्धित पक्षले गम्भिरता पुर्वक समीक्षा गर्नुपर्ने उनको भनाई छ ।

मृत्यु भएकामध्ये अधिकांश ८३ प्रतिशत महिला/परिवारले मृत्यु हुनुपूर्व स्वास्थ्य सेवा लिनका लागि कुनै न कुनै स्वास्थ्य संस्थामा उपचार लिन खोजेको प्रतिवेदनमा उल्लेख छ । झन्डै आधा ४८ प्रतिशत ले उपचार लिन खोजेका छैनन् । मातृ मृत्युको प्रमुख कारणहरूमा गैरप्रसूतिजन्य जटिलता अप्रत्यक्ष कारण ३२ प्रतिशत, प्रसूतिको बेलामा हुने उच्च रक्तस्राव २६ प्रतिशत र उच्च रक्तचापजन्य समस्या १२ प्रतिशत रहेको पाइएको छ । पाँच प्रतिशत मृत्यु गर्भपतनका कारणले भएको हो । यस्तै गर्भावस्थामा मृत्यु भएका महिलाहरूको मृत्युको प्रमुख कारणहरूमा गैरप्रसूतिजन्य जटिलता ४० प्रतिशत, प्रसूतिसंग असम्बन्धित कारण १७ प्रतिशत र रक्तचापको समस्या १४ प्रतिशत रहेको छ । प्रसवको समयमा मृत्यु भएका महिलाहरूमध्ये तीन चौथाइभन्दा बढी ७८ प्रतिशत महिलाहरूको मृत्यु प्रसूति रक्तस्रावका कारण भएको प्रतिवेदनमा छ । अध्ययनले नेपालमा अझै पनि धेरै मातृ मृत्यु गर्भावस्थाको समयमा रक्तस्राव र उच्च रक्तचापजस्ता रोकथाम गर्न सकिने कारणले हुने देखाएको छ भने उल्लेख्य मृत्यु आत्महत्या जस्ता गैरप्रसूतिजन्य जटिलताले पनि भएको देखिन्छ । स्वास्थ्य संस्थामा मातृ स्वास्थ्य सेवाको गुणस्तर र रेफरल संयन्त्रमा सुधार, आपतकालीन यातायात व्यवस्थापन र खतराका संकेतहरुको जाँच गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन सके मातृ मृत्युदरमा उल्लेख सुधार गर्न सकिने देखिन्छ । त्यसकारण तालुकदार निकाय, सरोकारवाला सबैले यता तिर ध्यान दिनु जरुरी देखिन्छ । 


प्रतिक्रिया