लुम्बिनीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

वैशाख ११, २०८० | रूपन्देही

लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभाको आज बसेको बैठकमा मुख्यमन्त्री लिला गिरीले संविधानको धारा १६८ को उपदफा ४ अनुसार विश्वासको मत माग्नु भएको थियो । मुख्यमन्त्री गिरीको पक्षमा ३३ मत मात्र परेपछि सरकार ढलेको हो । ८७ सदस्यीय लुम्बिनीको प्रदेश सभामा सरकार बनाउनका लागि ४४ मत आवश्यक पर्छ । तर, अहिले एमालेका २९ र राप्रपाका ४ गरी मुख्यमन्त्री गिरीले ३३ मतमात्र प्राप्त गरेका हुन् । 

विश्वासको मतको विपक्षमा भने ५३ मत परेको सभामुख तुलाराम घर्तीले जानकारी गराउनु भएको हो । पुस २७ गते ७ दलको समर्थनमा मुख्यमन्त्री बनेका गिरीले माघ ५ मा ८ दलका ५८ जनाबाट विश्वासको मत प्राप्त गर्नु भएको थियो । गिरीलाई समर्थन गरेका माओवादी सहितका ५ दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले दोस्रो पटक विश्वासको मत माग्नु भएको थियो । आज प्रदेश सभामा भएको मत विभाजनमा एमालेका २९ र राप्रपाका ४ गरी ३३ मत सरकारको पक्षमा प्राप्त भएको हो । मुख्यमन्त्री गिरीको विपक्षमा कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपा, लोसपा र जनमतका ३/३, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका १/१ प्रदेश सभा सदस्यले मत दिएका छन् ।

एमाले नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा अर्को सरकार गठनको प्रकृया गठबन्धनका दलहरुले आज नै सुरु गर्ने भएका छन् । कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सरकारले विश्वासको मत प्राप्त गर्न नसकेको जानकारी आज नै प्रदेश प्रमुखलाई गराएर कांग्रेस नेता डिल्ली चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचन समक्ष आग्रह गर्ने बताउनु भयो ।

गठबन्धनका दलहरुले यसअघि नै ५३ जना प्रदेश सभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुख शेरचन समक्ष बुझाई सकेका छन् । उनीहरुले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै सरकार गठन गर्न माग गर्दै आएका छन् ।


प्रतिक्रिया