भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबीच प्रतिनिधिसभामा आरोप–प्रत्यारोप

असार १५, २०८२ | काठमाडौं
भिजिट भिसा प्रकरणलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच प्रतिनिधिसभामा आरोप–प्रत्यारोपले निरन्तरता पाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद डिपी अर्यालले सत्तारुढ नेपाली कंग्रेसका सांसदको अघिल्लो दिनको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएपछि विवाद सृजना भएको हो । नेपाली कंग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो कम्पनी सुमिरे टुर्स एन्ड ट्राभल्समाथि लगाएको आरोपको प्रतिवाद गर्दै सांसद अर्यालले प्रमाण दिन चुनौती दिनुभएको थियो ।
रास्वपा सांसद अर्याल बोलिरहँदा कंग्रेस सांसद खतिवडाले आपत्ति जनाउनुभएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले समय दिएपछि खतिवडाले आफ्नो धारणा राख्नुभएको थियो ।
दुई विपक्षी दलको विरोध जारी रहँदा आरोप प्रत्यारोपले निरन्तरता पाएको हो । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आफूहरुले गम्भीर विषय उठाएपनि वेवास्ता गरिएको टिप्पणी गर्नुभयो । भिजिट भिसा प्रकरणमा छानविन हुनुपर्ने माग कायमै रहेको उहाँको भनाइ थियो ।
भिजिट भिसा प्रकरणमा सरकारले छानविन समिति बनाएपनि रास्वपा र राप्रपाले अस्वीकार गर्दै प्रतिनिधिसभा बैठक आज पनि बहिष्कार गरेका छन् । यसैबीच, सत्तारुढ नेपाली कांग्रेसले विपक्षीको गालीगलौजको प्रतिवाद गर्ने बताएको छ
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले भने संसदमा उठेका विषयलाई सरकारले गम्भीरपूर्वक नलिएको टिप्पणी गरेको छ ।
यसैबीच, प्रतिनिधिसभाको बैठक यही असार २३ गते सोमवारसम्मका लागि स्थगित भएको छ । राष्ट्रियसभाको बैठकमा भने आज मन्त्रालयगत विनियोजन विधेयकमाथि छलफल भएको थियो ।