पशुपतिनाथको जलहरीमा १ करोड १७ लाख हिनामिनाः अख्तियार

आश्विन १४, २०८० | काठमाडौं
पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी राख्दा रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पशुपति क्षेत्र विकास कोषका वर्तमान सदस्यसचिव डा. मिलनकुमार थापा, तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकाल र कोषमा कार्यरत स्टोरकिपर अरुण कुमार श्रेष्ठ विरुद्ध अख्तियारले १ करोड १७ लाख बढी बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । थापा तत्कालीन कोषाध्यक्ष भएको अवस्थामा सुन हिनामिना भएको पाइएको अख्तियारले जनाएको छ ।
जलहरी निमार्ण समितिका संयोजक एवं कोषाध्यक्षको जिम्मेवारीमा आँफै रहेर थापा लगायतले सम्बन्धित विषयमा जानकारी नभएको व्यक्तिलाई जलहरी निमार्णको अनुमति दिएको पाइएको अख्तियारको अनुसन्धानमा खुलेको छ । राष्ट्र बैंकले खरिद गरेको सुन प्रयोग गरी जलहरी निर्माण गर्दा एक किलो ५ सय ६५ दशमलव ६ ग्राम सुन हिनामिना भएको पाइएको अख्तियारको भनाइ छ ।
सुन घट्नुमा क्षेत्र विकास कोषका स्टोरकिपरको लापारबाही देखिएको अख्तियारले जनाएको छ । हिनामिना भएको सुन जलहरीको रिङमा प्रयोग भएको भन्ने गलत विवरण लेख्न लगाएको भन्दै कोषका सह–सहायक बासुदेब रिमालले दिएको बयानका आधारमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।
तौल मापन गर्ने समयमा फरक देखिएको सुन हिनामिनामा विकास कोषका सदस्य सचिव डा मिलन कुमार थापा, र तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकालको मुख्य भूमिका देखिएको अख्तियारले जनाएको छ । पशुपतिनाथ मन्दिरको जलहरी राख्ने क्रममा हिनामिना भएको भन्दै संसदमा समेत सो विषयले प्रवेश पाएपछि सत्तारुढ दल र प्रतिपक्षीबीच लामो समय विवाद भएको थियो ।