पोखरा महानगर २४ का वडा अध्यक्षलाई साढे ४ महिना जेल सजाय

मंसिर ७, २०८० | कास्की

कास्कीको पोखरा महानगरपालिका २४ का वडा अध्यक्ष भरतबहादुर अधिकारीलाई अदालतले साढे ४ महिना कैद सजय सुनाएको छ ।

 जिल्ला अदालत कास्कीका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले अधिकारीमाथि ७५ हजार रुपैयाँ जरिवाना सहित फैसला सुनाएको हो । पीडित दलित महिला वडासदस्य मैया नेपालीलाई अधिकारीले १० हजार रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने समेत अदालतको फैसलामा उल्लेख छ ।

 वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममा आफूमाथि जातीय विभेदजन्य गालीगलौज गरेको भन्दै पीडित महिला वडासदस्य नेपालीले २०७९ पुस २४ गते जाहेरी दर्ता गराएको रिटमाथि सुनुवाई गर्दै अदालतले सो आदेश दिएको हो । 

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव सम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ मा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने समेत सो ऐनले व्यवस्था गरेको छ । 


प्रतिक्रिया