विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसँग सरकारको आग्रह

मंसिर ८, २०८० | काठमाडौं

परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गर्नुभएको छ ।

दुई दिने भ्रमणका लागि हिजो नेपाल आएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग आज सिंहदरबारमा भएको भेटमा परराष्ट्रमन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको हो ।

भेटमा मन्त्री साउदले विद्रोही हमासले रिहा गर्न लगेको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरेको उहाँका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले बताउनुभयो । जवाफमा कतारका विदेश राज्यमन्त्री अल–मुखैरीले जोशीको रिहाइका लागि यथासक्य पहल गर्ने आश्वासन दिनुभयो ।

भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्धविराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रशंसा समेत गर्नुभएको थियो ।

यसअघि हिजो मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गर्नुभएको थियो । 


प्रतिक्रिया