सुरक्षा अभावमा ढोरपाटन सिकार आरक्षबाट करोडौं राजश्व गुम्दै

मंसिर ९, २०८० | काठमाडौं

काठमाडौं नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षमा सुरक्षा अभाव देखिएको छ ।

आरक्षको सुरक्षामा कमी हुँदा पटक–पटक अवैध रुपमा हतियार सहित प्रवेश गरेका सिकारीले संरक्षित पशुचौपाया मार्ने गरेका छन् । वर्षेनि करोडौं रुपैयाँ राजश्व संकलन गर्ने आरक्षले कर्मचारी र सुरक्षाकर्मी अभावमा ६० प्रतिशत क्षेत्रमा सुरक्षा दिन नसकेको हाम्रा सहकर्मीले जनाएका छन् ।

सिकारीले संरक्षित जनावरबाहेक अन्य पशुपक्षी समेत मार्ने गरेको वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रराज कँडेलले बताउनुभयो । बागलुङमा मुख्य कार्यालय रहेपनि आरक्षको अधिकांश भूगोल रुकुम र केही खण्ड म्याग्दीमा पर्छ । आरक्षका ७ वटा ब्लक मध्ये ३ वटा रुकुम, ३ वटा बागलुङ र १ वटा म्याग्दीमा छ ।

ती सबै ब्लकमा सुरक्षाकर्मी र आरक्षका कर्मचारी नहुँदा नियमित चोरी सिकार भइरहेको कँडेलको भनाई छ । अवैध हतियार समेत बेलाबेलामा भेटिने गरेका छन् । लाखौं रुपैयाँको जडिबुटी र काठ समेत तस्करी हुने गरेको आरक्षको तथ्यांक छ ।


प्रतिक्रिया