तपस्वी भनिने रामबहादुर बम्जन प्रहरीद्धारा सार्वजनिक, विलासी जीवन बिताइरहेको खुलासा

पुस २५, २०८० | काठमाडौं

यौन शोषणको आरोप लागेका तपस्वी भनिने रामबहादुर बम्जनलाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेको भोलिपल्ट केन्द्रिय अनुसन्धान ब्यूूरोले पत्रकार सम्मेलन गर्दै आज सार्वजनिक गरेको हो । चार बर्षदेखि फरार रहेका बम्जनले विलासी जीवन बिताइरहेको खुलासा भएको छ । प्रहरीका अनुसार, उनको घरबाट प्रहरीले ३ करोड भन्दा बढी नेपाली रुपैयाँ, विभिन्न देशका मुद्रा तथा विलासी गाडी बरामद भएका छन् ।

पछिल्लो केही वर्ष यता प्रहरीकोे निगरानीमा पर्दै आएका व्यक्ति हुन् रामलाल बम्जन उर्फ रामबहादुर बम्जन । विसं २०४६ चैत २७ गते जन्ममिति कायम भएका बम्जन आफूलाई तपस्वी, लिटल बुद्ध लगायतका नामले चिनाउँदै आएका थिए । बाराको निजगढ नगरपालिका १२ रतनपुर घर भएका बम्जन विभिन्न अरोप लागेसँगै प्रहरीबाट भाग्दै आएका थिए । उनी फेरी पनि भाग्ने क्रममै यस पटक भने बम्जन प्रहरीको कठघरामा पुुगेका छन् ।

 हिजो पक्राउ गर्न काठमाडौंको बुढानिलकण्ड नगरपालिका ६ टन गाउँस्थित घरमा प्रहरीको टोली पुगेपछि उनी भाग्ने क्रममा प्रहरी नियन्त्रणमा परेका हुन् । पक्राउ परेका बम्जनलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सिआइबीका एसएसपी दिनेश आचार्यले लामो समय बम्जन प्रहरीको निगरानीमा रहेको बताए ।

प्रहरीले उनलाई सार्वजनिक गरिरहँदा बम्जनका सयौं अनुयायी प्रहरी कार्यालय परिसर पुगेका थिए । २२ बर्षीया किशोरीलाई यौन शोषण गरेको आरोप लागेका बम्जन विरुद्ध सर्लाही जिल्ला अदालतले २०७६ माघ २३ मा पक्राउ गर्न अनुमति दिएको थियो । अदालतको पक्राउ अनुमतिका बाबजुत बम्जन भने विलासी जीवनमा रमाउँदै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । पक्राउ गर्न बुढानिलकण्ठ पुगेको प्रहरीले बम्जनको घरबाट ३ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम र विदेशी मुद्रा समेत बरामद गरेको छ ।

२ करोड २० लाख माथि मूल्य पर्ने विलासी गाडी चढ्दै आएका बम्जनले थप विलासीताका लागि भन्दै अर्को गाडी किन्न ३ करोड रुपैयाँ काठमाडौंको एक सोरुमलाई दिएको समेत पाइएको छ । आफूलाई ‘लिटल बुद्ध’ समेत बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप लाग्दै आएको छ । सिआइबीका एसएसपी आचार्यका अनुुसार बम्जनको आश्रमबाट अहिलेसम्म ४ जना अनुुयायीहरु हराइरहेका छन् ।

प्रहरीले २०७६ पुसमा पनि सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँस्थित तोड्के जंगलमा रहेको आश्रममा छापा हानेको थियो । सो स्थानमा बम्जनले ८० रोपनी क्षेत्रफलमा आश्रम चलाएका थिए । आश्रममा पुगेकाहरू धमाधम हराउन थालेपछि बम्जन अनुसन्धानको घेरामा तानिएका हुन् । त्यसअघि उनी लोकप्रिय भएका बेला अन्तराष्ट्रिय मिडियाले बम्जनबारे केही डकुमेन्ट्री बनाएका थिए । 


प्रतिक्रिया