गण्डकी प्रदेशका मुख्यमन्त्री राजीनामा दिने तयारीमा

चैत्र २०, २०८० | कास्की

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे राजीनामा दिने तयारी गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलको बैठकमा छलफल गरेर राजीनामा दिने तयारी गर्नु भएको नेताहरुले बताएका छन् । 

गत फागुन २३ मा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिई राजीनामा दिने तयारी गर्नुभएको हो । 

मुख्यमन्त्री पाण्डले विश्वासको मत नपाउने निश्चित प्रायः भएपछि राजीनामा दिने तयारी गर्नुभएको कांग्रेस नेताहरुले बताएका छन् । 

दिउँसो ३ बजे बैठक बसेर राजीनामा दिने वा राप्रपाको समर्थन लिएर विश्वासको मत लिने भन्ने विषयको टुंगो लाग्ने कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताउनुभयो । 

सरकारको निरन्तरता वा पुर्नगठनमा निर्णायक देखिएको राप्रपा अनिर्णित बन्दा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत लिन सकस देखिएको हो ।

नयाँ सत्ता समीकरण अनुसार एमाले–माओवादी मिल्दा समेत सरकार बनाउने स्थिति बनेको छैन । ६० सदस्यीय प्रदेशसभामा विश्वासको मत लिन ३० सांसद आवश्यक पर्नेमा एमालेको २२ र सभामुख बाहेक माओवादीको ७ सांसद छन् । 

कांग्रेस नेतृत्वको सरकालाई विस्थापित गरेर नयाँ सरकार गठन गर्न राप्रपाको समर्थन आवश्यक देखिन्छ । मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत लिन राप्रपाको समर्थन अनिवार्य देखिन्छ । 

यस्तै, मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिन्ह लिएर गोरखाबाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाको समर्थन जुटाउने तयारी गर्नु भएको बुझिएको छ ।


प्रतिक्रिया