गण्डकी प्रदेशमा चौंथो पटक सरकार गठन हुँदै

जेष्ठ १६, २०८१ | काठमाडौं

गण्डकी प्रदेशमा आज चौंथो पटक सरकार गठन हुँदैछ । सर्वोच्च अदालतले सोमबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको बहालीलाई अवैधानिक ठहर गर्दै त्यसअघिकै मुख्यमन्त्री कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । 

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले अस्ति सोमवार कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको हो । 

सर्वोच्चको आदेश अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले आज साँझसम्म मुख्यमन्त्रीमा पाण्डेलाई शपथ गराउनुपर्नेछ । प्रदेश प्रमुखको कार्यालयबाट पत्र प्राप्त भएपछि पाण्डे आजै मुख्यमन्त्री नियुक्त हुने कांग्रेसका प्रमुख सचेतक नन्द प्रसाद न्यौपानेले जानकारी दिनुभयो । 

गत चैत २५ गते प्रदेश सभाका ३१ जना सांसदको समर्थनको पत्र प्रदेश प्रमुख भट्टलाई बुझाएपछि एमालेका अधिकारी मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । 

मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भन्दै कांग्रेस चैत २७ मा सर्वोच्च पुगेको थियो । त्यसपछि गत बैशाख १७ मा सर्वोच्चले अधिकारीलाई विश्वासको मत लिने बाटो खोलिदिएपछि बैशाख २३ मा विश्वासको मत लिनु भएको थियो ।

 ३० सांसदले उहाँको पक्षमा हस्ताक्षर गरेपछि सभामुख कृष्णप्रसाद धितालले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । 

सभामुखको कदमविरुद्ध कांग्रेस बैशाख २६ मा पुनः सर्वोच्च गएको थियो । त्यसपछि सर्वोच्चले प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कांग्रेसका पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख समेतका नाउँमा परमादेशको आदेश जारी गरिदिएको हो । 

सर्वोच्च अदालतको परमादेश बमोजिम नियुक्ति हुन लागेका मुख्यमन्त्री पाण्डेको पक्षमा भने बहुमत सुनिश्चित भइसकेको छैन । 

बहुमत जुट्न सकेन भने फेरि अर्को सरकार गठन प्रक्रियामा प्रदेश प्रवेश गर्नुपर्ने हुन्छ । राजनीतिक दलहरु सरकार गठन–विघटनमा मात्र अलमलिइरहँदा प्रदेशसभा र प्रदेश सरकारको कामकारबाही प्रभावित भइरहेको छ । 


प्रतिक्रिया