न्यूरोडमा आगामी मंसिर २ गतेसम्म फुटपाथ विस्तार नगर्ने सहमति

श्रावण ७, २०८१ | काठमाडौं

काठमाडौं महानगरपालिका र न्यूरोडका स्थानीय बासिन्दाबीच आगामी मंसिर २ गतेसम्म फुटपाथ विस्तार नगर्ने सहमति भएको छ ।

महानगरपालिका उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं सम्वन्धित वडा अध्यक्षहरुबीच ३ बूँदे सहमति भएको काठमाडौं महानगरपालिका २३ का वडा अध्यक्ष मचाराजा महर्जनले बताउनुभयो ।

उहाँका अनुसार अहिले न्यूरोड क्षेत्रमा विस्तार भइरहेको फुटपाथको काम भने जारी रहनेछ । काठमाडौं महानगरपालिका २२ र २३ क्षेत्रमा भने फुटपाथ विस्तारबाट पर्ने प्रभावका बारेमा अध्ययन गर्न ९ सदस्यीय समिति बनाइएको छ ।

सो समितिले प्रतिवेदन बुझाएपछि फुटपाथ विस्तारको काम सुरु हुने नहुने टुङ्गो लाग्ने २३ नम्वर वडाका अध्यक्ष महर्जनले जानकारी दिनुभयो । फुटपाथ विस्तारको प्रभाव मुल्याङ्कनकालागि काठमाडौं महानगरपालिकाको सहरी योजना प्रमुख संयोजक रहनेगरी ९ सदस्यीय समिति गठन गरिएको हो ।

सोही समितिले दिएको प्रतिवेदनका आधारमा अहिले निमार्ण भइरहेको न्यूरोड क्षेत्रको फुटपाथका विषयमा समेत निर्णय हुने बताइएको छ । महानगरपालिकाले फुटपाथ विस्तारको काम अघि बढाएपछि स्थानीयबासिन्दा र नगर प्रहरीबीच चर्को विवाद भएको थियो । 


प्रतिक्रिया