प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी

भाद्र २५, २०८१ | काठमाडौं

सत्तारुढ दलहरूले पदीय आचरणको बिषय उठाउँदै संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेका छन् । उपसभामुखको लेटरप्याड प्रयोग गरेर केही व्यक्तिलाई भिसा दिलाउन अमेरिकी दूतावासलाई पत्र लेखेको बिषय पदीय आचरण विपरित भएको भन्दै एमाले र कंग्रेसले उपसभामुख रानालाई हटाउने पहल गरेका हुन् । 

कांग्रेस र एमालेका नेताहरुका अनुसार सुरूमा रानालाई पद छाड्न आग्रह गर्ने र नमानेको अवस्थामा प्रस्ताव अघि बढाउने तयारी भएको छ । रानाले गत बर्ष अमेरिकाको न्यूयोर्कमा आयोजित एक कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन लागेकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेख्नुभएको थियो । केही महिनाअघि बाहिर आएको सो बिषय साम्य भएकोमा अहिले एमाले र कंग्रेसले रानाको पदीय आचरणसँग जोड्दै पदबाट हटाउने तयारी गरेका हुन् । प्रस्ताव ल्याउनुअघि उपसभामुख रानालाई राजिनामा दिन दवाव सृजना गर्ने रणनीति कंग्रेस र एमालेले लिएका छन् । यसैबीच, प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद गोकुल बाँस्कोटाले उपसभामुख रानालाई मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको छ ।

कांग्रेस र एमालेका शीर्ष नेताहरूको पछिल्ला बैठकमा उपसभामुखको विषय उठेको र प्रधानन्यायाधीशलगायतका संवैधानिक नियुक्तिमा अप्ठेरो हुन सक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानालाई हटाउने रणनीति लिएको हुन सक्ने अनुमान गरिएको छ । उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले एमाले र कंग्रेसले आपसी सहमतिमा अर्को व्यक्तिलाई उपसभामुख बन्ने तयारी गरेको बताइएको छ ।


प्रतिक्रिया