प्रतिनिधि सभा र राष्टिय सभाको बैठक बस्दै

भाद्र ३१, २०८१ | काठमाडौं

संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद भवनमा दिउँसो एक बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ । 

यस्तै, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले छानबिन विशेष समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभयो । 

यसअघि भदौ २६ गतेको बैठक प्रमुख प्रतिपक्षी र सत्तारुढ एमालेबीचको आरोप प्रत्यारोपपछि हिजोसम्मका लागि स्थगित गरिएको थियो । हिजोको प्रतिनिधि सभा बैठकमा पनि एमालेका सांसदले प्रयोग गरेको ‘हिंसा’ शब्द रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने माओवादीको अडानपछि स्थगित भएको थियो ।

यस्तै, राष्ट्रिय सभाको आज बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभाबाट संशोधन सहित फिर्ता आएको सार्वजनिक सेवा प्रशारण विधयेक सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 


प्रतिक्रिया