रास्वपा सभापति लामिछाने लगायतले सहकारीको रकम अपचलन गरेको पुष्टि

भाद्र ३१, २०८१

सहकारी रकम अपचलनसम्बन्धमा गठित संसदीय छानबीन विशेष समितिले आज सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितले सहकारीको रकम अपचलन गरेको पुष्टि गर्दै समितिले प्रतिवेदन सभामुखलाई बुझाउने तयारी गरेको समिति सदस्य ईश्वरी देवी न्यौपानेले जानकारी दिनुभयो । समितिको अहिले केहीबेरमा बस्ने बैठकमा हस्ताक्षर गरिएपछि दिउँसो १ बजे सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरिएको हो । 

समितिका अनुसार प्रमाणका आधारमा गोर्खा मिडिया नेकवर्कका सञ्चालकहरू जीबी राई, रवि लामिछाने, छविलाल जोशी, कुमार रम्तेलसहित जम्मा ९ जनालाई दोषी ठहर गरी थप कारबाहीका लागि सरकारलाई लेखी पठाउन सहमति भएको छ । सहकारी तथा गोर्खा मिडियाका कागजपत्र, आरोपी तथा सञ्चालकहरूको बयान, पीडितहरूको उजुरी तथा लामिछाने आफैंले हस्ताक्षर गरेका दस्ताबेजका आधारमा उहाँलाई दोषी मान्ने गरी प्रतिवेदन लेखिएको समितिको भनाइ छ । कम्पनीका अध्यक्ष गितेन्द्रबाबु जीबी राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट पुष्टि भएको छ ।

छानबिन समितिमा ९ घण्टा बयान दिँदा पनि लामिछानेले यसअघि गोर्खा मिडियाका लगानी, आम्दानी र खर्चबारे आफूलाई केही थाहा नभएको दाबी गर्नुभएको थियो । समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन हिजो बिहान १० बजेदेखि राती पौने ३ बजेम्म बैठक बसेको थियो ।

यसैबीच, मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम दुरुपयोगमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङसहित उनकी श्रीमतीलाई अनुसन्धान गर्न समितिले राज्यका निकायलाई लेखी पठाउने तयारी समेत गरेको छ । 


प्रतिक्रिया