संयुक्त राष्ट्रसंघको महासभा न्युयोर्कमा सुरु

भाद्र २६, २०८१ | काठमाडौं

संयुक्त राष्ट्रसंघ यूएनको ७९ औं महासभा अमेरिकाको न्युयोर्कमा आजदेखि सुरु भएको छ । यूएनका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्दै महासभाको शुभारम्भ गर्नु भएको हो । 

आगामी असोज १२ गतेसम्म चल्ने महासभाको अध्यक्षमा यस पटक क्यामरुनका पूर्वप्रधानमन्त्री फिलेमोन याङ हुनुहुन्छ । महासभामा उच्चस्तरीय छलफल भने असोज ८ देखि ५ दिनसम्म चल्नेछ । 

महासभामा विश्वका वर्तमान समस्या, विभिन्न मुलुकबीचको द्वन्द्व र मनमुटाव तथा जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य (एसडीजी) लगायत विषयमा छलफल हुनेछन् ।

महासभाकै दौरान यस पटक ‘समिट अफ द फ्युचर’ पनि हुने भएको छ । सम्मेलन असोज ६ र ७ मा यूएनकै मुख्यालयमा हुँदैछ । जर्मनी र नामिबिया सो सम्मेलनका सहआयोजक रहेका छन् । 

महासभामा भाग लिन २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क जाने तयारीमा हुनुहुन्छ । चौथो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हुनेछ । उहाँ ‘समिट अफ द फ्युचर’ मा पनि सहभागी हुने कार्यक्रम रहेको छ । 

समिट अफ द फ्युचर कार्यक्रममै सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि न्युयोर्क जानुहुने भएको छ । सो अवसरमा ओली र मोदीबीच साइडलाइनमा भेटवार्ता गराउन परराष्ट्र मन्त्रालयले पहल गरिरहेको छ । 


प्रतिक्रिया