लुम्बिनी प्रदेश सभामा विपद व्यवस्थापन विधेयक पेश हुँदै

भाद्र २६, २०८१ | देउखुरी

लुम्बिनी प्रदेश सभाको चौंथो अधिवेशनको २९ औं बैठक बुधबार बस्दैछ । बैठकमा विपद व्यवस्थापन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सेवा र सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक र विपद व्यवस्थापन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूची रहेको छ । 

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार बैठकमा विशेष समय पनि राखिएको छ । ‘प्रदेश सभाको आजको बैठकमा एक नयाँ विधेयक र एक प्रतिदेनसहितको विधेयक पेश गर्ने सम्भावित कार्यसुची छ,’ उहाँले भन्नुभयो, ‘माननीयहरुका लागि विशेष समय पनि रहेको छ ।’ 

यसअघि भदौ ७ गते प्रदेश सभाको चौंथो अधिवेशनको २८ औं बैठक बसेको थियो । प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने तयारी पनि गरेको छ । सरकारले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक’प्रदेश सभामा दर्ता गरिसकेको छ । 

ऐन संशोधन गर्ने सम्बन्धी निर्णय सोमबारको मन्त्रीपरिषद बैठकले गरेको थियो । विधेयक प्रदेश सभामा दर्ता भएको ७२ घण्टा पुग्नु पर्ने भएकाले अर्को बैठकमा सो संशोधन विधेयक पेश हुने सम्भावना रहेको सचिव पुनले बताउनुभयो । बैठक दिउँसो एक बजे बस्नेछ ।


प्रतिक्रिया