कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

भाद्र २६, २०८१ | काठमाडौं

विकसित पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठक अहिले बस्दैछ । 

उपसभामुख इन्दिरा राना मगरको राजीनामा एवं सहकारी प्रकरणमा मुछिएका उपसभापति धनराज गुरुङबारे छलफल गर्न कांग्रेसले शीर्षतहको बैठक बोलाएको हो । 

काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा अहिले केहीबेरमा बस्ने बैठकमा उपसभामुखको राजीनामा सम्बन्धमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् । 

पदीय आचरण विपरीत उपसभामुख इन्दिरा राना मगरले गैरसम्बन्धित र सामान्य चिनजानसम्म नभएका ५ जनालाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको भन्दै सत्तारुढ दलले पदबाट हटाउन प्रयास गरेका छन् । 

यसअघि गठबन्धन दलको बैठकले मार्ग प्रसस्त गर्नका लागि उपसभामुखलाई आग्रह गर्ने र नमाने २ तिहाईबाट हटाउनका लागि संसदमा प्रस्ताव गर्ने तयारी गरेका छन् । 

बैठकमा पछिल्लो विकसित घटनाक्रम बारे छलफल र आवश्यक निर्णय हुने सहमहामन्त्री भिष्मराज आङ्दम्बेले जानकारी दिनुभयो । 

यस्तै, सहकारी ठगीमा मुछिएका उपसभापति धनराज गुरुङको विषयमा पनि छलफल हुने बताईएको छ । सो विषय बाहिरिएपछि मंगलबार संसदमा पक्ष र विपक्षमा चर्को बहस भएको थियो । यस्तै, सहकारी ठगीमा नाम जोडिएको धनराजले संसदमै आफू निर्दोष रहेको प्रष्टीकरण दिने प्रयास गरेका थिए ।


प्रतिक्रिया