छठ पर्व सुरु, आज नहाय खाय

कार्तिक २०, २०८१ | महोत्तरी

मिथिलाञ्चल सहित मधेसमा मनाइने छठ पर्वको उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । जनकपुरधाम लगायत मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठ पर्व सुरु भएको हो ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा लगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो । 

अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्व सुरु हुन्छ । बजारमा पूजा सामग्री किन्नेको चहलपहल बढेको छ ।

पहिलो दिन आज (मंगलबार) नहाय खाय मनाइँदै छ । आजको दिन व्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् । पारिवारिक सुख-समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो दिन बुधबार खरना परेको छ । 

बुधबार साँझ व्रतालुले चामल, सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना विधि पूरा गर्नेछन् । बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ भने अन्तिम दिन शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।

यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहलपहल बढेको हो । आदिदेव सूर्यलाई अर्घ्य दिन मिथिलाञ्चलका नदी, तलाउ, पोखरी, इनार लगायत जलाशयको किनारमा घाट बनाएर विशेष रुपले सिँगारिँदै छ । 

खासगरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी गङ्गासागर, धनुष सागर, अङ्गराजसर, दशरथ तलाउ, रत्नसागर, गोर्धोइ पोखरी लगायत पोखरीलाई सजाइएको छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्ती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी एवं विविध प्रकारको मिठाई तथा फलफूल आदि सूर्यदेवलाई अर्घको रुपमा चढाउने गरिन्छ ।

छठ पर्वमा विशेष गरी अर्घ दिन व्रतालुले ४८ घण्टा अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ । यसकारण छठ पर्वलाई निष्ठाको कठोर साधना मानिन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिन चढाइएको सामग्री प्रसादको रुपमा ग्रहण तथा वितरण गर्ने चलन छ । त्यस कारण यस पर्वलाई सामाजिक सद्भाव र एकताको प्रतीक मानिन्छ ।


प्रतिक्रिया