पूर्वसभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा निधन

मंसिर २, २०८१ | काठमाडौं

पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उहाँको निधन भएको छ ।

अस्पतालका सूचना अधिकारी कृष्ण नेपालीका अनुसार ढुङ्गानालाई घरबाट अस्पताल ल्याइपुर्‍याउँदा निधन भइसकेको थियो । ८३ वर्षको उमेरमा ढुङ्गानाको निधन भएको हो ।ढुङ्गाना २०४८ सालमा काठमाडौंबाट निर्वाचित भएपछि प्रतिनिधिसभामा सभामुख बन्नुभएको थियो ।

ढुङ्गानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । गणतन्त्र स्थापनाका लागि भएको २०६२\०६३ को आन्दोलनमा नागरिक आन्दोलनको अगुवाइ गर्नेमा ढुङ्गाना पनि हुनुहुन्थ्यो ।

माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउने भूमिकामा ढुङ्गानाले सहजकर्ताको भूमिका समेत निभाउनुभएको थियो ।  


प्रतिक्रिया