स्थानीय तह उपनिर्वाचन : उम्मेदवारले आजदेखि प्रचारप्रसार गर्न पाउने

मंसिर ६, २०८१ | काठमाडौं

आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारले आजदेखि प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन कार्यक्रम अनुसार आजदेखि आगामी १३ गते राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ । 

मंसिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि तोकिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 

निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना उम्मेदवारलाई हिजो सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ । 

यही मंसिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । 

आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित हुनु भएको छ । 

यस्तै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–२ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनु भएको छ ।


प्रतिक्रिया