एनपीएल उपाधि विजेता टोली जनकपुरलाई प्रधानमन्त्रीद्वारा सम्मान
पुस ७, २०८१ | काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग क्रिकेटको पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने टिमका क्याप्टेन, खेलाडी, नेपाल क्रिकेट सङ्घ क्यान र खेलका व्यवस्थापकलाई बधाई दिनुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूला सफलता हासिल गर्नुका साथै विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीको बहालीपछि कीर्तिपुर क्रिकेट मैदानको स्तरतोन्नतीको पहिलो निर्णय गरिएको र निर्माणका लागि बोलपत्र आह्वान गरिएको स्मरण गर्दै उहाँले सरकार र आफ्नो तर्फबाट खेल क्षेत्रको विकासका लागि गर्नुपर्ने प्रयास निरन्तर रहने बताउनुभयो ।
यसैबीच क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विदेशका ठूला खेलाडीलाई श्रम स्वीकृतिमा झन्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गर्नुभयो । कीर्तिपुर क्रिकेट मैदानमा हिजो जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो ।