साम्प्रदायिक व्यवहार देखाउने समूहलाई कारबाही गर्न सरकारलाई मधेशी आयोगको आग्रह
पुस ७, २०८१
मधेशी आयोगले नेपाल प्रिमियर लिग क्रिकेटमा नश्लीय र साम्प्रदायिक व्यवहार देखाउने समूहलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले विज्ञप्ती जारी गर्दै एनपीएलको क्वालिफायर–२ अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा एक समूहद्वारा जनकपुर बोल्ट्सप्रति नश्लीय र साम्प्रदायिक व्यवहार देखाएको जनाएको छ ।
संविधान, ऐन र कानुनले सबै सामाजिक रीतिरिवाजलाई प्रतिबिम्ब गरे पनि सोच र व्यवहारमा भने परिवर्तन हुन नसकेको आयोगको भनाइ छ । उद्दण्ड र अभद्र व्यवहार देखाउने व्यक्तिहरूलाई तुरुन्त कानुनी रुपमा दण्डित गर्ने कार्य गर्न र संवेदनशील हुन आयोगले अपिल गरेको छ । आयोगले गृह–प्रशासनमा कारबाहीका लागि सिफारिस समेत गरिसकेको जनाएको छ ।
यसैबीच सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सको खेलपछि मधेशी समुदायका खेल समर्थकहरूलाई नश्लीय व्यवहार कुटपिट गरिएको भन्दै जनमत पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।