पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती मनाइँदै
पुस २७, २०८१ | काठमाडौं
आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज विविध कार्यक्रम गरी देशभर मनाइँदैछ । प्रत्येक वर्ष पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम बनाउने गरिएको छ ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । शाह १७९९ चैत २५ गते राजा बन्नु भएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।
पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उहाँ सफल हुनु भएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट र त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यकामा विजय हासिल गर्नु भएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनु भएको थियो ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउन लागिएको हो ।
यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिने कार्यक्रम रहेको छ । दिवसको सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चियापान कार्यक्रमको आयोजना गरेको छ भने गोरखा लगायत जिल्लामा पनि विशेष कार्यक्रम हुँदैछन् ।