बार्सिलोनालाई स्पेनिस सुपर कप फुटबलको उपाधि
पुस २९, २०८१ | काठमाडौं
रियल म्याड्रिडलाई स्तब्ध पार्दै बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट सिटी मैदानमा गएराति भएको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
योसँगै बार्सिलोनाले कीर्तिमान १५ औं पल्ट स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । रियल भने १३ पटकको च्याम्पियन टोली हो । रियलले खेलको पाँचौ मिनेटमा केयलिन एम्बाप्पेको गोल मार्फत अग्रता लिएको थियो ।
खेलको २२ औं मिनेटमा बार्सिलोनाका लागि लामिन यमलले बराबरी गोल फर्काए । त्यसपछि रोबर्ट लेवनडोस्कीले ३६ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । त्यसपछि राफिन्हाले दुई तथा एलेजान्ड्रो ब्लाडले एक गोल गरे ।
राफिन्हाले खेलको ३९ र ४८ औं मिनेटमा गोल गरेका थिए । रोड्रिगोले रियलका लागि एक गोल फर्काए पनि बार्सिलोनामाथि थप दबाब सिर्जना गर्न सकेन ।
बार्सिलोनाका गोलकिपरले ५६ औं मिनेटमा रातो कार्ड खाँदै मैदान छाड्नु परेको थियो । यो सिजनको एल क्लासिकोकोमा बार्सिलोनाको यो लगातार दोस्रो जित हो । यसअघि बार्सिलोनाले रियललाई ला लिगाको खेलमा ४–० ले हराएको थियो ।