७५ औँ प्रजातन्त्र दिवस मनाइँदै

फाल्गुन ७, २०८१
आज फागुन ७ गते । राणाशासन अन्त्य भई प्रजातन्त्र आएको दिनको सम्झनामा विभिन्न कार्यक्रम गरी ७५ औँ प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ साल फागुन ७ गते प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा सरकारले सैनिक मञ्च टुँडिखेलमा बिहान विशेष समारोहको आयोजना गरियो ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारी उच्च अधिकारी सहभागी भएका थिए । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक व्यवस्थाको सुरुवात भएको थियो । त्यही ७ सालको प्रजातन्त्रको जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो ।
पछिल्लो समय बैशाख ११ गते लोकतन्त्र र जेठ १५ मा गणतन्त्र दिवस मनाउन थालिएको छ । प्रजातन्त्र दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।