हामीले धर्म विरोधी कार्यक्रम बनाएका छैनौंः मह जोडी

फाल्गुन ८, २०८१ | काठमाडौं
वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले धर्म परिवर्तनको आरोप लगाउँदै सामाजिक सञ्जालमा गरिएको टिप्पणीप्रति आपत्ति जनाउनुभएको छ । कलाकारद्धय श्रेष्ठ र आचार्यले आफुहरुमाथि लगाइएको आरोप आधारहीन भएको बताउनुभएको हो । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उहाँहरुले आफूहरुले बनाएको टेलिभिजन कार्यक्रममा धर्म परिवर्तनको बिषय समावेश नभएको उल्लेख गर्नुभएको छ । कलाकार श्रेष्ठले धर्म विरोधी प्रचार गरेको आरोप लगाइको भन्दै दुःख व्यक्त गर्नुभयो ।
अमेरिकी अन्तराष्ट्रिय निकाय युएसएडमार्फत् पैसा लिएर धर्म परिवर्तनका लागि काम गरेको आरोप मह जोडीलाई लगाइएको छ । आफूहरुको कार्यक्रममा कुनै पनि धर्म विरोधी सामाग्री नभएको कलाकार आचार्यले बताउनुभयो ।युएसएडबाट टेलिभिजन कार्यक्रमका लागि रकम प्राप्त गर्ने संस्थाहरूको सूचीमा मह सञ्चार पनि छ । त्यही बिषयलाई उठाएर कतिपयले सामाजिक सञ्जालमा कलाकार श्रेष्ठ र आचार्यमाथि टिप्पणी गरिरहेका छन् ।